Logo

नयाँ वर्षमा बन्दीपुरमा सडक खाना महोत्सव



दमौली (तनहुँ), १५ चैत । नयाँ वर्ष २०८१ का अवसरमा तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सडक खाना महोत्सव हुने भएको छ । बन्दीपुरको पर्यटन प्रवर्द्धनका लागि बन्दीपुर पर्यटन विकास समिति, क्षेत्रीय होटल सङ्घ, तनहुँ उद्योग वाणिज्य सङ्घ बन्दीपुर एकाइ र रेबान तनहुँको संयुक्त आयोजनामा यही चैत ३०, वैशाख १ र २ गते सडक खाना महोत्सवको आयोजना गरिएको हो ।

नयाँ वर्षलाई जिल्लाभित्रै बसेर स्वागत गर्न र बन्दीपुरको पर्यटन प्रवर्द्धन गर्ने प्रमुख लक्ष्यसहित सडक खाना महोत्सव आयोजना गरिएको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले जानकारी दिए।

उनले भने, “बन्दीपुर तनहँुकै प्रमुख पर्यटकीयस्थल हो, नयाँ वर्ष मनाउन बाहिर जिल्ला जान नपरोस् भन्ने हेतुले सडक खाना महोत्सव आयोजना गरिएको हो, त्यतिबेला यहाँ तनहुँका मात्र नभई देशका विभिन्न जिल्लाबाट तथा विदेशी पर्यटकको समेत घुइँचो हुनेमा ढुक्क छौँ ।”

सडक खाना महोत्सवका अवसरमा विविध जातजातिका सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ । मगर, नेवार, गुरुङ, ब्राह्मणलगायत अन्य जातजातिका सांस्कृतिक नाचलाई सडक खाना महोत्सवमा समावेश गरिने उनले बताए । आन्तरिक पर्यटकका अलवा बन्दीपुरमा विदेशी पर्यटकको पनि उत्तिकै भीड हुन्छ । यहाँ विशेषगरी चिनियाँ पर्यटकको सङ्ख्या बढी हुन्छ । नेपाल आएका अधिकांश पर्यटक एक रात बस्नका लागि बन्दीपुर आउने गरेका छन् ।

यस वर्ष बन्दीपुरमा २६ देशबाट पर्यटक आएको तथ्याङ्क छ । बन्दीपुरमा जापान, चीन, इटाली, स्पेन, नेदरल्याण्ड, फ्रान्स, अमेरिका, जर्मनी, डेनमार्क, पाकिस्तान, अष्ट्रेलिया, बेलायत, आयरल्याण्ड, दक्षिण कोरिया, बेल्जियम, थाइल्याण्ड, ताइवान, स्वीटजरल्याण्ड, मलेसिया, होल्याण्ड, पोर्चुगल, चेक रिपब्लिक, इरान, भारत, ग्रिस र अर्जेन्टिनाका पर्यटक आएको जनाइएको छ ।

बन्दीपुरमा आयोजना हुने सडक खाना महोत्सवले यहाँको पर्यटनमा टेवा मिल्ने होटल व्यवसायी वैश गुरुङ बताउँछन् । उनले भने, “बन्दीपुरमा नयाँ वर्षमा घुम्नका लागि पर्यटक आउनुहुन्छ, सडक खाना महोत्सवले उहाँहरूलाई थप आकर्षित गर्नेछ ।”

बन्दीपुर घुम्न आउने पर्यटकलाई पर्यटकीय गन्तव्यसम्म सहज पहुँच स्थापना गर्न बन्दीपुर गाउँपालिकाले १७ पर्यटकीय गन्तव्यको सूची सात भाषामा तयार गरेपछि पर्यटकलाई थप सहज भएको छ । गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाका अनुसार गन्तव्यबारे जानकारी नेपाली, अङ्ग्रेजी, चाइनिज, जापनिज, कोरियन, फ्रेन्चलगायतका भाषामा तयार पारिएको छ ।

बन्दीपुरको थानीमाई मन्दिर, मणि मुकुन्देश्वरी पर्खाल (मिनी ग्रेटवाल), विन्ध्यवासिनी मन्दिर, पद्य पुस्तकालय, पातलेद्वार गुफा, पहाड पानी, सहिद स्मारक पार्कलगायतका १७ पर्यटकीय गन्तव्यको सूचना फरक–फरक भाषामा तयार गरिएको छ ।

सदरमुकाम दमौलीबाट १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । त्यहाँबाट मनोरम हिमश्रृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ«े, धवलागिरिलगायतका हिमशृङ्खला देखिने भएकाले यहाँ पुग्ने जो कसैको मन लोभिने गर्दछ ।

बन्दीपुरमा होटल सङ्घसँग आबद्ध साना ठूला गरी ७७ होटल सञ्चालनमा छन् । बन्दीपुरमा ग्रिनपार्क, होटल दरबार हिमालय फेवा, गामघर, वोल्डइन, बन्दीपुर माउण्टेन रिसोर्ट, बन्दीपुर प्यालेस, मगर भिजेललगायत होटल सञ्चालनमा छन् ।

भक्तपुरे शैलीमा निर्माण गरिएका घरहरु, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायतका स्थल यहाँ आउने पर्यटकको आकर्षणको केन्द्रबिन्दु बन्ने गरेको छ । रासस



प्रतिक्रिया दिनुहोस्