Logo

बहुमत जुटाउन नसकेपछि लुम्बिनीका मुख्यमन्त्री चौधरीले राजीनामा दिने



काठमाडौं,२२ चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिने भएका छन् । प्रदेश सभाबाट विश्वासको मत लिन लागेका चौधरीले बहुमत जुटाउन नसकेपछि आजै बस्ने प्रदेश सभाको बैठकलाई सम्बोधन गरेर राजीनामा दिन लागेका हुन् ।

केन्द्रमा नयाँ गठबन्धन बनेपछि मुख्यमन्त्री चौधरी अल्पमतमा परेका थिए । अहिले कांग्रेसका २७, लोसपा र जनमतका ३-३ र जनमोर्चाका १ प्रदेशसभा सदस्यको मात्र समर्थन जुटाएका छन् । ३ प्रदेशसभा सदस्य रहेको राप्रपाले अहिलेसम्म कुनै निर्णय गरेको छैन ।

त्यस्तै विवादका कारण अन्तिम निर्णय नगरेको ४ प्रदेशसभा सदस्य रहेको नागरिक उन्मुक्ति पनि अन्तिम समयमा नयाँ गठबन्धनतिरै लाग्ने भएकाले मुख्यमन्त्रीले प्रदेश सभा बैठकमा सम्बोधन गरेर राजीनामा दिने तयारी गरेका हुन् ।

गत वैशाख १४ गते ८ दलका ५३ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका चौधरी ११ सांसद रहेको नेकपा माओवादी केन्द्रले फागुन २३ गते समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका थिए । ८७ जना प्रदेशसभामा बहुमतका लागि ४४ सांसद चाहिन्छ ।

नयाँ गठबन्धनमा आबद्ध एमालेसँग २९, माओवादीसँग १० (सभामुखबाहेक), जसपासँग ३ र नेकपा एकीकृत समाजवादीसँग १, स्वतन्त्र १ प्रदेशसभा सदस्य छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot