Logo

जन्मदिनकै दिन खगराजलाई मुख्यमन्त्रीको उपहार



काठमाडौं,२५ चैत । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार संविधानको धारा १६८ को उपधारा २ अनुसार उनी मुख्यमन्त्री नियुक्त भएका थिए । अधिकारी गण्डकीको मुख्यमन्त्रीमा दोस्रो पटक नियुक्त भएका हुन् ।

नेकपा एमालेका स्थायी कमिटी सदस्यसमेत रहेका अधिकारीलाई जन्मदिनकै दिन मुख्यमन्त्रीको उपहार मिलेको छ । २०१८ साल चैत २५ गते लेखनाथको बेगनासमा अधिकारीको जन्म आजकै दिन भएको थियो । उनलाई जन्म दिनकै दिन मुख्यमन्त्रीका उपहार मिलेको छ ।

अघिल्लो संसदीय निर्वाचनमा कास्कीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका अधिकारी ०७२ सालमा पहिलो पटक सुशील कोइराला नेतृत्वको सरकारमा स्वास्थ्यमन्त्री बनेका थिए । कोइराला नेतृत्वको तत्कालीन सरकारमा झण्डै ९ महिना स्वास्थ्यमन्त्री बनेका उनले नेपालमा स्वास्थ्य बिमा लागू गराएर चर्चामा आएका थिए । २०७४ सालको पुसमा भएको एउटा सार्वजनिक कार्यक्रममा ‘गोविन्द केसीलाई मर्न दिनुपर्ने’ तर्क अभिव्यक्त गरेपछि अधिकारी विवादमा पनि तानिएका थिए।

केपी शर्मा ओली नेतृत्वको सरकारले दोस्रो पटक संसद विघटन गरेपछि गृहमन्त्री बनेका अधिकारी सर्वोच्च अदालतको आदेश पछि १३ दिनमै पदच्यूत भएका थिए । गत वर्षको संघीय निर्वाचनमा कास्की ३ बाट टिकटका आकांक्षी रहेका उनलाई एमाले अध्यक्ष केपी शर्मा अ‍ोलीले गण्डकीको मुख्यमन्त्री घोषणा गर्दै प्रदेशको टिकट थमाईदिएका थिए । सत्ता गठबन्धनबाट बाहिर रहेको एमाले सरकारमा जाने अवस्था नरहेको अवस्थामा प्रदेश सभामा निर्वाचित अधिकारी सत्तामा उलटफेर आएपछि पहिलो चरणमै गण्डकीको मुख्यमन्त्री बनेका थिए ।

जन्म दिनकै दिन मुख्यमन्त्रीको उपहार पाएका अधिकारीको सत्तायात्रा भने लामो समय जानेमा आशंका उब्जिएको छ । प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीको दावी पेश गर्दा सभामुख कृष्ण धितालको पनि समर्थन लिएपछि उनी विवादमा तानिएका छन् । सभामुखलाई सरकार बनाउने खेलमा सामेल गराएको भन्दै प्रमुख प्रतिपषी दल नेपाली कांग्रेसले आपत्ति जनाउँदै अदालत जाने बताईसकेको छ ।

यसअघि कोशी प्रदेशमा सोही प्रकरण दोहोरिँदा तत्कालीन मुख्यमन्त्री उद्धव थापा २३ दिनमै पदमुक्त भएका थिए । सर्वोच्चले कोशीकै नजिरलाई आधार बनाएमा उनको सत्ता यात्रा छिट्टै टुंगिने देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot