Logo

राष्ट्रिय सभा उपाध्यक्षमा एमालेकी विमला र कांग्रेसबाट विष्णुदेवीको उम्मेदवारी दर्ता



काठमाडौं,२७ चैत । भोलि हुने राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनका लागि २ जनाले मनोनयन दर्ता गराएका छन् ।

नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनी र नेकपा एमालेकी विमला घिमिरेले उम्मेदवारी दर्ता गराएका हुन् ।

घिमिरेको प्रस्तावकमा राष्ट्रियसभामा एमाले प्रमुख सचेतक रहेकी भगवती न्यौपाने छिन् । समर्थकमा नेकपा (माओवादी केन्द्र)का गोपीबहादुर सार्की अछामी रहेका छन् ।

उनी ०७६ माघ ९ गते राष्ट्रियसभा सदस्य बनेकी हुन् । उनको कार्यकाल दुई वर्ष बाँकी छ ।

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन बुधबार (भोलि) हुँदै छ । उर्मिला अर्यालले उपाध्यक्षबाट राजीनामा दिएपछि रिक्त पदमा निर्वाचन हुन लागेको हो ।

त्यस्तै पुडासैनीको प्रस्तावकमा दुर्गा गुरुङ र समर्थकमा नारायणदत्त भट्ट छन् । आज बिहान कांग्रेस संसदीय कार्यसमितिको बैठकले पुडासैनीलाई उपाध्यक्षमा उम्मेदवार बनाउने निर्णय गरेको थियो । ७६ वर्षीया विष्णुमाया गत माघमा बागमतीमा महिला क्लष्टरबाट राष्ट्रियसभामा निर्वाचित भएकी थिइन् ।

सत्ता गठबन्धनमा सहमति भएअनुसार उपाध्यक्ष एमालेलाई दिने सहमति भएको थियो। पछि नेकपा एकीकृत समाजवादी पनि सत्ता गठबन्धनमा सामेल भएपछि उक्त बुँदा हटाइएको थियो।

राष्ट्रियसभामा माओवादी केन्द्रका १७, नेकपा एमालेका वामदेव गौतमबाहेक ९, नेकपा एकीकृत समाजवादीका ८ र जनता समाजवादीका ४ सांसद छन्। यस्तै, नेपाली कांग्रेसका १६ सांसद छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot