Logo

गाजामा बढ्दो तनावबीच रफाह आक्रमण विरुद्ध राष्ट्रसङ्घीय प्रमुखको चेतावनी



न्युयोर्क (अमेरिका), २५ वैशाख । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सोमबार कडा चेतावनी जारी गर्दै रफाहको भूमि आक्रमण ‘असहनीय’ हुने बताएक छन् । उनले यसको विनाशकारी मानवीय परिणाम तथा यस क्षेत्रमा सम्भावित अस्थिर प्रभाव हुने बताएको सिएनएनले बताएको छ ।

“रफाहमा स्थलगत आक्रमणले विनाशकारी मानवीय परिणाम र यसको अस्थिर प्रभाव असहनीय हुनेछ”, उनले भने, “मैले इजराइली सरकार र हमासको नेतृत्वलाई युद्धविराम सम्झौतामा पुग्नका लागि अतिरिक्त प्रयास गर्न कडा अपिल गरेको छु, यो यस्तो अवसर हो जसलाई छाड्न सकिँदैन ।”

प्यालेस्टिनी सिभिल डिफेन्सका अनुसार मङ्गलबार बिहान रफाहमा धेरैवटा हवाई आक्रमणका कारण तनाव बढ्दा मानसिहरू हताहतमा परेका छन् भने कयौँ घाइते भएका छन् ।

“सिभिल डिफेन्स टोलीहरूले दक्षिणी गाजा पट्टीको रफाह प्रान्तका विभिन्न स्थानमा सोमबार राति इजराइली लडाकु विमानहरूले बम प्रहार गरेका धेरै घरहरूको भग्नावशेषमुनिबाट धेरै सहिद र घाइतेलाई निकाल्न सफल भएका छन्”, प्यालेस्टिनी डिफेन्सको विज्ञप्तिमा भनिएको छ ।

सिभिल डिफेन्सले जारी गरेको तस्बिरहरूले बमबारी भएका घरहरूको भग्नावशेषमुनि हताहत भएका धेरैलाई फेला पारेको विज्ञप्तिमा उल्लेख छ । मङ्गलबार बिहान जारी एक फेसबुक पोस्टका अनुसार रफाहको कुवेत अस्पतालमा ११ जनाको मृत्यु भएको बताइएको छ ।

बढ्दो हवाई आक्रमणका बीच इजराइली प्रधानमन्त्रीको कार्यालयले सोमबार ‘हमासमाथि सैन्य दबाब दिन’ रफाहमा सैन्य कारबाही जारी राख्ने पुष्टि गरेको छ । इजराइली रक्षा बल (आइडीएफ) ले पूर्वी रफाहमा हमासका आतङ्कवादी लक्ष्यहरू विरुद्ध जारी लक्षित आक्रमणहरू गरेको बताएको छ ।

सिभिल डिफेन्सका अनुसार आइतबारदेखि सोमबारसम्म रातभर भएको घातक बमबारीपछि कम्तीमा २६ जनाको ज्यान गएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot