Logo

नयाँ वर्षमा पर्यटकीय क्षेत्र कुश्मा पर्यटकको घुइँचो



पर्वत, २ वैशाख । साहसिक पर्यटकीय पूर्वाधार बढेसँगै पर्वतमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेको छ ।

विभिन्न सङ्घसंस्थाले अध्ययन तथा अवलोकन भ्रमणका गन्तव्यसमेत पर्वतको सदरमुकाम कुश्मा क्षेत्रलाई बनाइरहेका छन् । कुश्मा बजारमा बनेको विश्वकै दोस्रो अग्लो बञ्जीजम्प, विश्वकै दोस्रो लामो सुपरम्यान शैलीको जीपलाइन, नेपालकै अग्ला र लामा झोलुङ्गे पुलले आन्तरिक पर्यटकलाई आकर्षित गरेको हो ।

नयाँ वर्ष प्रारम्भ र चैतेदसैँको बेला भएकाले दैनिक हजारौँको सङ्ख्यामा आन्तरिक पर्यटक भित्रिने गरेका छन् । गर्मीयाम सुरु भएसँगै कालीगण्डकीमा जलयात्राको यामसमेत सुरु भएको छ ।

नयाँ वर्षमा पर्यटकको सङ्ख्या बढेसँगै कुश्माबजारका होटल भरिभराउ हुन थालेका छन् । एकसाता अघिदेखि नै होटल बुकिङ हुन थालेको सञ्चालकहरूको भनाइ छ । पर्यटकीय पूर्वाधार बढेसँगै कुश्माबजारमा सुविधासम्पन्न होटलसमेत थपिन थालेका छन् ।

चैतदेसैँ तथा गार्मीयामको समयमा हिमालपारिको जिल्ला मुस्ताङको कागबेनीमा श्राद्ध गर्न जाने तथा उपल्लो मुस्ताङ र कोरल्ला नाकामा घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकका कारण पनि पर्वत सदरमुकाममा चहलहपल बढ्न थालेको स्थानीय बताउँछन् ।

मुस्ताङ जाने दर्शनार्थीका साथै अन्य पर्यटकले जाने र फर्किने बेलामा बास बस्नका लागि होटल बुकिङ गर्ने गरेका होटल बन्दनाका सञ्चालक कृष्णप्रसाद श्रेष्ठले बताए । उनका अनुसार नेपालका चितवन, विराटनगर, हेटौँडा, दोलखा, नेपालगञ्ज, बर्दिया, दाङ, बुटबल, कपिलवस्तुलगायत क्षेत्रबाट शैक्षिक सङ्घसंस्था, सहकारी संस्था, विभिन्न सामुदायिक सङ्घसंस्थाको शैक्षिक तथा अवलोकन भ्रमणका लागि यहाँ आउने क्रम बढिरहेको छ ।

कतिपयले पर्वतलाई गन्तव्य बनाउने गरेका छन् भने कतिपय बागलुङ, म्याग्दीतर्फ जाने गरेका होटल व्यावसायीको भनाइ छ ।

पछिल्ला केही दिनयता सदरमुकामका सुविधासम्पन्न होटल, रिसोर्ट तथा रेष्टुरा भरिभराउ हुन थालेका सञ्चालक श्रेष्ठको भनाइ छ । बञ्जीजम्प र जीपलाइनमा पनि एकसाता अघिदेखि नै टिकट बुक भइरहेको सञ्चालकले बताएका छन् । अन्य दिनभन्दा शुक्रबार, शनिबार र सार्वजनिक बिदाका दिनमा पर्यटकको चाप बढी हुने गरेको द क्लिफका सञ्चालक राजु कार्कीले बताए । यस वर्षदेखि बाह्य पर्यटकसमेत उल्लेख्य मात्रामा आउन थालेका उनको भनाइ छ ।

पर्यटकको चहलपहल बढेकै अवस्थामा पर्वतको जलजलामा रु ३० करोड लगानीमा निर्माण गरिएको ज्ञान गौरी पार्टी प्यालेसले पनि शनिबारदेखि सेवा सुरु गरेको छ । तेइस रोपनी क्षेत्रफलमा निर्माण गरिएको पाँचतलामा ३९ कोठा भएको होटलमा एकैदिन दुई सय जनासम्म पाहुना बस्न सक्ने सञ्चालक कृष्ण केसीले जानकारी दिए ।

आन्तरिक पर्यटकको चाप अत्यधिक भएसँगै सवारी पार्किङको समस्या देखिएको छ । सवारीसाधन बजारका भित्री सडक र पर्यटकीय पूर्वाधार नजिकै पार्किङ गर्दा दुर्घटनाको जोखिम बढेको सवारी चालकको गुनासो छ । रासस



प्रतिक्रिया दिनुहोस्