Logo

बन्दीपुरमा पर्यटक बढेसँगै होटल व्यवसायी उत्साहित



तनहुँ, २ वैशाख । ‘पहाडकी रानी’ उपनामले परिचित बन्दीपुरमा आयोजित तीनदिने सडक खाना महोत्सवले पर्यटक भरिभराउ भएका छन् ।

बन्दीपुरको पर्यटन प्रवर्द्धनका लागि बन्दीपुर पर्यटन विकास समिति, क्षेत्रीय होटल सङ्घ, तनहुँ उद्योग वाणिज्य सङ्घ बन्दीपुर एकाइ र रेवान तनहुँको संयुक्त आयोजनामा शुक्रबारदेखि महोत्सव सुरु भएको हो ।

बन्दीपुरमा ११औँ सडक खाना महोत्सवले यहाँका होटल पर्यटकले भरिभराउ हुने गरेको समितिका पूर्वअध्यक्ष बैंश गुरुङले बताए । महोत्सवमा आन्तरिक एवं बाह्य पर्यटकको आवगमन बढेपछि यहाँका होटल व्यवसायीमा उत्साह थपिएको छ ।

अघिल्ला वर्ष कोरोनाका कारण पटकपटक ‘लकडाउन’ हुँदा निराश बनेका यहाँका पर्यटन व्यवसायीमा यतिबेला खुसी छाएको हो । “बाह्य पर्यटकको तुलनामा आन्तरिक पर्यटकको सङ्ख्या अधिक”, उनले भने, “स्वीजरल्याण्ड, जर्मनी र चाइनिजलगायतका देशका बाह्य पर्यटक आएका छन् ।”

पर्यटक आउने र जाने प्रक्रिया चलिरहेकाले महोत्सव अवधिभर करिब १० हजार पर्यटकले बन्दीपुर भ्रमण गर्ने अपेक्षा गरिएको उनले बताए ।

होटल व्यवसायीले पर्यटकलाई प्याकेजमा १५ प्रतिशतसम्म छुट दिने गरेका क्षेत्रीय होटल सङ्घकी अध्यक्ष सङ्गीता प्रधानले जानकारी दिए ।

चितवन, तनहुँ, पोखरा र काठमाडौँ घुम्नेगरी आन्तरिक पर्यटकले रुट मिलाएर आउने गरेका छन् । बन्दीपुरमा करिब ८० जना व्यवसायी सङ्घमा आबद्ध भएका छन् । महोत्सवले यहाँका होटल तथा घरबाससमेत भरिभराउ हुँदा छुट्टै रौनकता छाएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताए ।

महोत्सवमा लाखेनाच, टाकटुके, सोरठीलगायतका स्थानीय कला, संस्कृति प्रस्तुत गरी पर्यटकलाई भरपुर मनोरञ्जन प्रदान गरिएको उनले जानकारी दिए । बन्दीपुर तनहुँको सदरमुकाम दमौलीबाट १८ किलोमिटर दूरीमा पर्छ भने पृथ्वीराजमार्गस्थित डुम्रे बजारबाट करिब आठ किलोमिटरको उकालो यात्रा गरेपछि बन्दीपुर पुगिन्छ ।

उक्त स्थानबाट विभिन्न हिमशृङ्खला, पहाडका टाकुरा, समथर फाँटलगायतका मनोरम दृश्यले यहाँ आउने पर्यटक लोभिने गर्दछन् । रासस



प्रतिक्रिया दिनुहोस्