Logo

प्रादेशिक अस्पतालको अत्याधुनिक भवन निर्माण सुरु



लुम्बिनी, ३ वैशाख । लुम्बिनी प्रादेशिक अस्पतालको अत्याधुनिक भवन निर्माण कार्य सुरु भएको छ । प्रदेशको गौरवको आयोजनाअन्तर्गत १२ तले अत्याधुनिक अस्पताल भवन निर्माणको काम सुरु भएको हो । नयाँ भवन निर्माणका लागि पुराना संरचना हटाउने काम थालिएको छ ।

अस्पतालको पुरानो बहिरङ्ग सेवा (ओपिडी), आकस्मिक सेवा (इमर्जेन्सी), अन्तरङ्ग (इन्डोर) सेवा रहेको भवनसँगै हाल प्रशासनिक कक्ष रहेको भवन संरचना भत्काएर नयाँ संरचनाको काम थालिएको छ ।

दैनिक हजारौँ उपचारका लागि आउने अस्पताल भएकोले संरचना हटाउँदा धुलो तथा वायु प्रदूषण कम गर्न पानी छिटेर सुरक्षितसाथ काम गरिरहेको आयोजनाका साइट इञ्जिनियर रमेश शर्माले जानकारी दिए ।

“दुई हप्ताभित्रै पुरानो संरचना हटाएर नयाँ संरचनाको जग खन्न तयार पार्दैछौँ”, उनले भने, “अस्पतालका अन्य संरचनाको सुरक्षा तथा जग खन्ने काम भइरहेको छ ।”

अस्पतालको नयाँ बन्ने भवन डिजाइनअनुसार दुई तला अन्डरग्राउण्ड (जमिनमुनि) हुनेछ । कम्तीमा साढे सात मिटर गहिरो जग खन्नुपर्नेछ । एक सय १४ वर्ष पुरानो बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणका लागि प्रदेश पूर्वाधार विकास प्राधिकरणले छ अर्ब १८ करोड ७५ लाख लागतमा ठेक्का सम्झौता गरेको छ ।

भारतीय निर्माण कम्पनी क्याप साइट आशिष रेलिग्रेट भेन्चरले नेपाली कम्पनीसँग संयुक्तरूपमा काम गर्नेगरी गत पुस २६ गते सम्झौता गरेको थियो । सम्झौताअनुसार विसं २०८५ पुससम्म अस्पतालको भवन निर्माण सक्नुपर्नेछ । अस्पताल भवन बुटवल उपमहानगरपालिका वडा नम्बर ९ मा रहेको छ बिघा १२ कठ्ठा जग्गामा निर्माण हुँदैछ ।

अस्पतालको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार भवनको अगाडिको भागमा अत्याधुनिक बहिरङ्ग सेवा (ओपिडी), आपत्कालीन सेवा (इमर्जेन्सी), इनडोर सर्भिस कक्ष रहनेछन् । ग्याष्ट्रो, न्युरो, कार्डियोलोजीलगायतका विशेषज्ञ सेवा एउटै भवनबाट सञ्चालन हुनेछन् । भवनको छतमा हेलिप्याड रहनेछ । हेलिप्याडबाट सिधै इमर्जेन्सीमा आवतजावत गर्न मिल्ने व्यवस्थित लिफ्ट बन्नेछ ।

क्यान्सर उपचारका लागि अन्डरग्राउन्डसहित पाँच तलाको अलग्गै भवन बन्नेछ । पछिल्लो पाँच वर्ष यता मात्रै सङ्घीय सरकारको लगानीमा दुई पटक गरी रु ५८ करोडको लागतमा भौतिक संरचना निर्माण गरिएका छन् । अस्पताल विकास समितिले इमर्जेन्सी, ओपिडी, अन्तरङ्ग सेवा, फार्मेसी, अस्पताल परिसरभित्रको सडक र अस्पताल कम्पाउण्ड वाल निर्माण लगायतमा रु ३५ करोड बढी लगानी गरेको छ ।

अस्पतालमा हाल पाँच सय २० शय्या रहेका छन् । यहाँ दैनिक दुई हजारभन्दा बढी बिरामीहरू उपचारका लागि आउने गर्छन् । सामान्य अवस्थामा पनि ७० प्रतिशत बढी शय्या बिरामीले भरिने गर्छन् ।

सरकारी तीन सय र अस्पताल विकास समितिमार्फत एक सय गरी चार सय शय्याको स्वीकृति पाएको अस्पतालले बिरामीको चापका कारण एक सय २४ शय्या थप गरी पाँच सय २४ शय्याको सेवा प्रदान गर्दै आएको छ ।

अस्पतालका सूचना अधिकारी डा नेत्रबहादुर रानाले अस्पतालले वार्षिक ४० लाखलाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको जानकारी दिए । डा रानाका अनुसार अस्पतालमा दैनिक ओपिडीतर्फ एक हजार पाँच सयदेखि दुई हजार र इमर्जेन्सीमा दुई सयदेखि दुई सय ५० जनासम्म बिरामी आउने गर्छन् । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot