Logo

पर्यटकीय गन्तव्य बनाउन गौरादह पोखरीको निर्माण



झापा, ४ वैशाख । गौरादह नगरपालिका– १ मा रहेको ऐतिहासिक ‘गौरादह पोखरी’लाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने उद्देश्यले सरसफाइसहित निर्माण सुरु भएको छ । यसको निर्माणपछि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्य बन्ने अपेक्षा गरिएको छ ।

नगरकै पहिचान बोकेको १२ बिघा पाँच कठ्ठा क्षेत्रफलमा रहेका चार वटा प्राकृतिक पोखरीलाई संरक्षण र सम्बद्र्धन गर्दैै पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले निर्माण सुरु गरिएको वडा नं १ का वडाध्यक्ष नगेन्द्र भण्डारीले जानकारी दिए ।

नगरपालिकाले १९ लाख खर्चेर एकै स्थानमा रहेका चारवटा पोखरी निर्माणको गुरुयोजना तयार गरेको थियो । सोही आधारमा प्रदेश सरकारले विनियोजन गरेको चार करोड बजेटबाट पहिलो चरणको निर्माण सुरु भएको उनले बताए ।

उनका अनुसार चार वटा पोखरीलाई १३ फिट अग्ला दुई वटा पोखरी बनाइनेछ । पहिलो चरणमा पोखरीको सतह मिलाउने, पोखरीको वरिपरि ३३ फिट १० मिटर चौडाइको कच्ची बाटो निर्माण र ढुङ्गाको जाली लगाइने उनले बताए ।

पोखरीलाई आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नका लागि संविधानसभा सदस्य दीपक कार्कीको संयोजकत्वमा ऐतिहासिक पोखरी संरक्षण एवं पर्यटकीयस्थल निर्माण समिति गठन गरिएको उनले जानकारी दिए।

पाँच वर्षअघि तत्काल निर्माण गर्ने गरी पोखरीको पालिकाले विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) तयार गरेको थियो । विसं २०७५ मा डिपीआर तयार गरेको पोखरीको पहिलोचणको निर्माण प्रदेश सरकारको मूल्य अभिवृद्धि कर(भ्याट)सहित तीन करोड छ लाखमा सम्झौता गरी डिजे निर्माण सेवाले काम सुरु गरेको छ ।

“पोखरीको निर्माण अब रोकिँदैन”, अध्यक्ष भण्डारीले भने, “हाम्रो नगरकै गौरवको योजनाभित्र यो प्राकृतिक पोखरी पर्छ । यसको निर्माण सम्पन्न गर्न करिब २० करोड लाग्ने अनुमान छ । प्रदेश र सङ्घीय सरकारसँग पहल गरिरहेका छौँ ।”

पोखरीलाई मत्स्यपालन र पर्यटकीय केन्द्रको रुपमा एकैपटक लैजाने, परिसरभित्र विश्रामस्थलसहितको फूलबारी निर्माण गर्ने, बोटिङ गर्ने, चिल्ड्रेन पार्क, जातीय सङ्ग्रहालयलगायतका संरचना तयारी गर्ने गरी गुरुयोजना तयार गरिएको उनको भनाइ छ । यसअघि पोखरीको जग्गा अतिक्रमण हुनबाट जोगाउन तीन चरणमा घेराबारा गर्ने काम गरिएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot