Logo

बैशाख १५ को उपनिर्वाचनमा इलाम र बझाङ दुवै क्षेत्रमा एमालेले जित्ने आनन्द पोखरेलको दाबी



काठमाडौं, ४ बैशाख । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री आनन्द पोखरेलले ०७९ को निर्वाचनयता तात्विक भिन्नता नरहेको भन्दै अहिले देखिएको राजनीतिक अस्थिरताको अन्त्यको लागि पनि सदनमा कमभन्दा कम दलको प्रतिनिधित्व हुनुपर्ने वकालत गरेका छन् । उनले भने,‘अहिले मुलुकमा आर्थिक, राजनीतिक, सांस्कृतिक र सामाजिक स्थितिमा खासै परिवर्तन आएको छैन् । अहिलेपनि राजनीतिक अस्थिरता कायमै छ ।’

आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै पूर्वमन्त्री पोखरेलले यही बैशाख १५ गते हुने इलाम–२ (प्रतिनिधिसभा) र बझाङ १ (क) प्रदेशतर्फको उपनिर्वाचनमा एमालेका उम्मेद्वारको जित सुनिश्चित् भएको दाबी गरे । उनले भने,‘यो उपनिर्वाचनको कुरा गर्दा नेपाली जनताले राम्रोसँग हेरिरहेका छन् । इलाममा जनताले युवा नेता खोजेका छन् । सुहाङ नेम्वाङ हाम्रो उम्मेद्वार हुनुहुन्छ । मैले फिल्डबाट बुझ्दा हाम्रो जित सुनिश्चित् छ ।’

उनले माधव नेपाललाई च्याँखे थाप्ने काम नगर्न चेतावनी दिए । उनले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीको सवालमा माधव नेपालको दलले कांग्रेससम्मिलित नयाँ गठबन्धनलाई सघाएको विषयमा आपत्ति जनाएका हुन् । उनले भने,‘अहिलेको गठबन्धनबाहिरको लाई समर्थन गर्ने कुरा भयो, माधव नेपालले गल्ती गर्नुभयो । त्यो गल्ती नगर्न म अनुरोध गर्दछु । यो गठबन्धनको रक्षा गर्नुपर्छ । यो मुलुकको आवश्यकत्ता हो । राजनीतिमा यसरी च्याँखे थाप्नहुँदैन् । अरु ढंगले लाग्नुहुँदैन् । माधव नेपालको बुद्धि फिरोस । अर्को कुरा गठबन्धनमा जे वार्ता र सहमति भएको छ, त्योअनुसार चल्नुपर्छ । गल्ती गर्नुहुँदैन् ।’

उनले मुलुकको राष्ट्रियता जोगाउनको लागि र संविधानको रक्षाको लागि वंश परम्परालाई कहिल्यैपनि उठ्न नदिनको लागि नयाँ सरकार र नयाँ गठबन्धन आवश्यकत्ता भएकोले नै अहिलेको गठबन्धन र सरकार बनेको दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot