Logo

यो वर्ष सगरमाथा चढ्ने आरोही घट्न सक्ने



काठमाडौं, वैशाख ५ । यो वसन्त ऋतुमा हिमाल आरोहण गर्न ६८ समूहका ६१२ आरोहीले आरोहण अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार १३४ महिला र ४७८ जना पुरुषले आरोहण अनुमति लिएका हुन्।

विभागका साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङका अनुसार सबैभन्दा बढी सगरमाथा आरोहण गर्न ४६ देशका २७४ आरोहीले अनुमति लिएका छन्।

‘आरोहणको सिजन शुरु भएसँगै अनुमति लिने र धमाधम आधार शिविरतर्फ जाने आरोहीको सङ्ख्या बढेको छ’, उनले भने, ‘वसन्तयाममा सगरमाथा आरोहणका लागि उपयुक्त मानिने भएकाले अनुमति लिनेमा सबैभन्दा धेरै सगरमाथातर्फ नै छन्।’

अघिल्लो वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ४७८ जनाले अनुमति लिएका थिए। यो पटक चीनतर्फको मोहडाबाट समेत सगरमाथा आरोहण खुला गरिएकाले केही आरोही घट्ने अनुमान गरिएको छ।

यसपटक सगरमाथा आरोहणका लागि २२१ पुरुष र ५३ जना महिलाले अनुमति लिएका छन्। सबैभन्दा बढी अमेरिकाबाट ५९, चीनबाट ३८, जापानबाट १९, भारतबाट १७, रसियाबाट १६ र बेलायतबाट १५ जनाले अनुमति लिएको गुरुङले जानकारी दिए।

सगरमाथा आरोहण शुल्कबापत मात्रै सरकारलाई ३९ करोड १२ लाख ८५ हजार ८८७ रुपैयाँ हिमाली राजस्व प्राप्त भएको छ। त्यस्तै २३ वटै हिमालमा दिएको अनुमतिबापत ४३ करोड ७८ लाख ७५ हजार ५९ रुपियाँ राजस्व संकलन भएको छ।

आरोहणको मौसम शुरु भएसँगै सगरमाथा, अमादब्लम, मकालु, अन्नपूर्ण, कञ्चनजंघा, धौलागिरि, ल्होत्से, अमादब्लम, जुगललगायत हिमालका आधार शिविर आरोहीले भरिभराउ भएका छन्।



प्रतिक्रिया दिनुहोस्