Logo

म्यान्माकी नेत्री सु कीलाई कारागारबाट सारेर घरमा नजरबन्द



काठमाडौं, वैशाख ६ । म्यान्माकी प्रजातन्त्रवादी नेत्री आङ सान सु कीलाई कारागारबाट घरमा नजरबन्द गरिएको छ । जुन्ता सरकारले कैदीहरूलाई लुको लहरबाट बचाउने कदम चालेको घोषणा गरेसँगै कारागारमा रहेकी सु कीलाई कारागारबाट बुधबार नजरबन्दमा राखिएको हो ।

भ्रष्टाचारदेखि कोभिड–१९ नियमहरूको उल्लङ्घनसम्म धेरै आपराधिक अभियोगमा ७८ वर्षीय नोबेल पुरस्कार विजेता सु कीले २७ वर्षको कारागार सजाय काटिरहेकी छन् । सन् २०२१ को सैन्य विद्रोहमा सत्ता कब्जा गरेर सेनाले हिरासतमा लिएपछि सु कीलाई धेरै हदसम्म नजरबाट लुकाइएको थियो र उनी स्वास्थ्य समस्याले ग्रस्त भएको बताइएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्ययमका अनुसार नाम उल्लेख नगर्ने शर्तमा एक सैन्य अधिकारीले सु की र पूर्वराष्ट्रपति विन मिन्टलाई कारागारबाट घरमा नजरबन्द गरिएको छ। जुन्ताका प्रवक्ता जाव मिन टुनले गर्मी मौसमका कारण अधिकारीहरूलाई कमजोर बन्दीहरूको सुरक्षा उपाय अपनाउन प्रेरित गरेको समाचारमा उल्लेख छ।

राजधानी नेपिडाउमा तापक्रम बुधबार ४१ डिग्री सेल्सियस पुग्ने अपेक्षा गरिएको छ र आगामी सातामा मौसम अझ तातो हुने अनुमान छ । नेपिडाउमा सु कीलाई विशेषरूपमा निर्मित परिसरमा हिरासतमा राखिएको मानिन्छ ।

मुलुकको नयाँ वर्षको उत्सव मनाउन नियमित आममाफीको एक भागका रूपमा तीन हजार तीन सय केदीलाई रिहा गरिने जुन्ताले बुधबार घोषणा गरेको छ । एएफपी



प्रतिक्रिया दिनुहोस्