Logo

उद्यमशील विद्यार्थीलाई आयोगको सहयोग



धुलिखेल (काभ्रेपलाञ्चोक), ९ वैशाख । बनेपा नगरपालिका–६ बुडोलमा रहेको काभ्रे बहुमुखी क्याम्पसमा अध्ययनरत एक उद्यमशील विद्यार्थीले व्यवसाय बिस्तारका लागि ४० लाख प्राप्त गरेका छन् । उनले यो रकम चार वर्षसम्म बिना ब्याज चलाउन पाउनेछन् ।

क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई उद्यमशील बनाउने उद्देश्यले विश्वविद्यालय अनुदान आयोगले सो रकम अनुदानस्वरुप क्याम्पसलाई उपलब्ध गराएको हो । क्याम्पसलाई प्राप्त अनुदान रकम विद्यार्थीलाई बिना ब्याज उपलब्ध गराइएको जनाइएको छ । क्याम्पसमार्फत् परियोजना पेस गरेका चार विद्यार्थीमध्ये पुरुषोत्तम नेपालले सो रकम प्राप्त गरेका हुन् । उनी सो क्याम्पसमा स्नातकोत्तर तहमा समाजशास्त्र सङ्काय अन्तर्गत चौँथो सेमेस्टरमा अध्ययनरत छन् ।

उनले विभिन्न रुखहरुको जराबाट फर्निचर बनाउनेसम्बन्धी परियोजना पेस गरेका थिए । उनलाई आज क्याम्पसले ‘विश्वविद्यालय अनुदान आयोगको सहयोगमा उद्यमशीलता सहयोग कार्यक्रम अन्तर्गत बीउ पुँजी हस्तान्तरण कार्यक्रम’ आयोजना गरी पहिलो किस्ताबापतको २४ लाखको चेक हस्तान्तरण गरेको छ ।

उनले सो रकम चार वर्षसम्म बिना ब्याज प्रयोग गरी पुनः क्याम्पसलाई नै फिर्ता गर्नुपर्नेछ । यसरी फिर्ता आएको रकम अर्को परियोजनामा छनोट हुनेले पाउनेछन् । उनले फर्निचर व्यवसाय सञ्चालन गर्दै आएका छन् ।

बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले समाजमा कामको जिम्मा लिने र काम नगरिदिने परिपाटी रहेको भन्दै जिम्मा लिएको काम परिणाममुखी बनाउन आवश्यक रहेकोमा जोड दिए ।

“जिम्मेवारी लिएको काम इमान्दारीपूर्वक गर्न सकेको खण्डमा विदेशी कामदार झिकाएर काम लगाउनुपर्ने अवस्था रहँदैन”, उनले भने, “त्यसका लागि काममा ध्यान दिन आवश्यक छ ।” सो क्रममा उनले स्वास्थ्य क्षेत्रमा सहयोग पु¥याउनका लागि काभ्रे बहुमुखी क्याम्पसको माथिल्लो छतमा खेलकुदका लागि टेबलटेनिस कभर्ड हाल सञ्चालन गर्ने तयारी गरिरहेकाले विद्यार्थीलाई अध्ययनसँगै स्वस्थ बन्ने अवसर लिन आग्रह गरे ।

काभ्रे बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष लम्बोदर कायस्थले क्याम्पसले पठनपाठन बाहेक विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए । रासस



प्रतिक्रिया दिनुहोस्