Logo

‘पर्यटन विकासका लागि सुविधा सम्पन्न यातायात सेवा अपरिहार्य’



गण्डकी, ११ वैशाख । पर्यटन विकासका लागि सुविधा सम्पन्न यातायात सेवा अपरिहार्य रहेकामा सरोकारवालाहरूले जोड दिएका छन् ।

नेपाल पर्यटक यातायात व्यवसायी सङ्घ (एनटिभिए) गण्डकी प्रदेशले नयाँ वर्ष २०८१ का अवसरमा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सरोकारवालाले सुविधा सम्पन्न यातायात सेवा पर्यटकीय विकासको आधारभूत आवश्यकता भएकामा जोड दिए ।

कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पर्यटकलाई सुविधा सम्पन्न यातायात सेवा दिनु जरूरी रहेको भन्दै यातायात व्यवसायीहरूले मागअनुसार स्तरीय सेवा प्रवाहमा ध्यानदिनुपर्ने बताए । पर्यटक यातायातका माध्यमबाट एनटिभिएले पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याइरहेका समेत उनको भनाइ थियो ।

सरकारले व्यावसायिक सुरक्षाको प्रत्याभूतिका लागि पर्यटक यातायात सञ्चालनका क्रममा आउने जोखिम न्यूनीकरण गर्न व्ययभारको जिम्मा बीमा कम्पनीले लिने नियम बनाउन र भलाई कोषको स्थापना गर्न आवश्यक रहेकामा पनि यहाँले जोड दिए ।

एनटिभिए गण्डकी प्रदेशका पूर्वअध्यक्ष एवं सल्लाहकार बोबरजङ्ग गुरुङले निजी र पर्यटक सवारीसाधनको आयु २० वर्ष तोकिनुले स्तरीय सवारीसाधन भएका व्यवसायी मर्कामा परेको भन्दै सो नीति परिवर्तन गर्नुपर्ने धारणा राखे ।

एनटिभिए गण्डकी प्रदेशका अध्यक्ष दुर्गादत्त दहालले पर्यटक यातायात सेवालाई अझै प्रभावकारी बनाउनेमा संस्था लागिरहेको बताए । त्यसअवसरमा संस्थाले प्रकाशन गरेको पर्यटक यातायात सवारीसाधनको दररेटसहितको वार्षिक पात्रो लोकार्पण गरिएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्