Logo

लगानीकर्ताका लागि अनुकूल वातावरण बनाउन नेपाल तयार छ : परिसङ्घ अध्यक्ष अग्रवाल



काठमाडौँ, १६ वैशाख । नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालमा लगानीकर्ताका लागि अनुकूल वातावरण बन्दै गएको देखिएको र सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर सँगसँगै काम गरिरहेको बताएका छन् ।

तेस्रो लगानी सम्मेलनको उद्घाटनसत्रमा परिसङ्घ अध्यक्ष अग्रवालले नेपालमा लगानीका लागि पर्याप्त सम्भावना रहकाले विदेशी लगानीकर्तालाई यहाँ लगानीका लागिसमेत आह्वान गरे । “नेपालको प्रचुर प्राकृतिक स्रोत, सांस्कृतिक विविधता र रणनीतिक अवस्थिति भएकाले नेपालमा लगानीको दिगो प्रतिफल हासिल गर्न सक्ने पर्याप्त ठाउँ छ । पर्यटनदेखि प्रविधिसम्म, पूर्वाधार विकासदेखि नवीकरणीय ऊर्जासम्म, शिक्षादेखि स्वास्थ्य सेवासम्म सम्भावनाका क्षेत्र पहिचान भएका छन्”, उनले भने ।

नेपालले नवप्रवर्तन, उद्यमशीलता र समावेशी आर्थिक विकासको लक्ष्य लिएको धारणा अध्यक्ष अग्रवालले राखे । “नेपालले पहिचान गरेका र प्रस्ताव गरेका लगानी सम्भावनाबाट हामी सबैले लाभ लिन सक्नुपर्छ । यो सम्मेलनलाई लगानी प्रवद्र्धनका लागि अधिकतम सदुपयोग गर्न र यसलाई रोजगारी सृजना, पूर्वाधार विकास र सामाजिक–आर्थिक प्रगतिसँगै जोड्न सहकार्यका लागि आग्रह गर्दछु”, उनले भने ।

नेपालको पर्यटन क्षेत्र, सूचना प्रविधि र जलविद्युत् क्षेत्र पनि लगानीका लागि प्रमुख सम्भावना भएको क्षेत्रका रुपमा रहेको उनको भनाइ छ ।

“नेपालको प्राकृतिक सौन्दर्यले यहाँको साहसिक पर्यटनको सम्भावना र सांस्कृतिक पर्यटन विकासका लागि प्रमुख गन्तव्य बन्नसक्ने सम्भावना देखाउँछ । जलविद्युत् क्षेत्रलाई नेपालमा लगानीको प्रचुर सम्भावना भएको क्षेत्रका रुपमा बुझ्न सकिन्छ । प्रचुरमात्रामा जलस्रोत र स्वच्छ ऊर्जा उत्पादन गर्ने सम्भाव्यतालाई ध्यानमा राख्दै नेपाल लगानीका लागि महत्वपूर्ण क्षेत्र हो”, परिसङ्घ अध्यक्ष अग्रवालले भने, “जलविद्युत् पूर्वाधारको विकासमा भएको लगानीले नेपालको ऊर्जा सुरक्षामा मात्र योगदान पु¥याउँदैन, छिमेकी देशहरूमा निर्यातको अवसर पनि प्रदान गर्दछ ।”

नेपाल दक्षिण एशियाली क्षेत्रमा उदीयमान सूचना प्रविधि (आइटी हब)का रूपमा आफूलाई स्थापित गर्ने चरणमा रहेको उनले बताए । नेपालले सूचना प्रविधि क्षेत्रबाट निर्यात गर्नसमेत थालिसकेको अग्रवालले बताए । त्यसैगरी, नेपालमा शिक्षा, स्वास्थ्य सेवा, चिया, घरजग्गा र कपडालगायतका विविध क्षेत्रहरूमा लगानीकर्ताहरूको लागि उपयुक्त सम्भावना छ ।

शिक्षा क्षेत्रमा, सांस्कृतिक समृद्धि र शान्त वातावरणको सदुपयोग गर्दै नेपाललाई शैक्षिक हबका रूपमा स्थापित गर्ने अवसर रहेको बताउँदै उनले विश्वस्तरीय शैक्षिक संस्थाहरू, अनुसन्धान केन्द्रहरू र व्यावसायिक प्रशिक्षण केन्द्रहरूमा लगानीले स्वदेशी र अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई आकर्षित गर्न सक्ने बताए । नेपाललाई मेडिकल हबका रूपमा स्थापित गर्ने सम्भावना रहेको पनि उनले उल्लेख गरे ।

नेपालमा लगानीको वातावरण बनाउनका लागि सरकारले नीतिगत र कानुनी सुधारको प्रयास थालेको पनि अध्यक्ष अग्रवालले बताए । “सरकारले विभिन्न कानुन र नियम परिमार्जन गरेर निजी क्षेत्रहरूको अनुरोधलाई सम्बोधन गरेको छ । यी कार्यहरूले देशभित्र लगानीको अनुकूल वातावरण निर्माण गर्न सरकारको प्रतिबद्धतालाई देखिन्छ”, उनले भने ।

उद्घाटनसत्रमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले विकास साझेदारका रुपमा रहेका विभिन्न क्षेत्रको पारस्परिक साथ र सहयोगले नेपालको आर्थिक विकासको आकाङ्क्षालाई पूरा गर्नसक्ने बताए । “हामीसँग लगानीका लागि पर्याप्त सम्भावना छ । तर यो सम्भावनालाई यथार्थमा बदल्न कुनै एक पक्षको प्रयासले मात्र सम्भव छैन । रणनीतिक लगानीको सोच, दीर्घकालीन सहकार्य र प्रतिबद्धता चाहिन्छ”, उनले भने ।

लगानी सम्मेलनमा विभिन्न देशका लगानीकर्ताको उपस्थितिले नेपालको आर्थिक रूपान्तरणका लागि लगानीको वातावरण बन्दै गएको विश्वास लगानी कर्ताले पाउने उनले उल्लेख गरे । नेपाल भारत र चीन जस्ता दूई ठूला देशसँग सजिलो बजार पहुँच भएको देश भएकाले यहाँ उत्पादित वस्तु तथा सेवाका लागि बजार खोज्न समस्या नरहेको बताए । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot