Logo

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन



काठमाडौं, २० बैशाख । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्थाविपरित हुने गरी सर्वोच्च अदालतको आदेशबाट ध्यानाकार्षण भएको भन्दै राजधानी काठमाडौंमा पत्रकारहरुले लालटिन बालेर प्रदर्शन गरेका छन् ।

काठमाडौंको माइतीघर मण्डलामा भेला भएका पत्रकारहरुले आज विहान ७ः३० बजेदेखि ८ः३० बजेसम्म एक घण्टा लालटिन बालेर पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा प्रदर्शन गरेका हुन् । ‘संविधानको पालना गर, प्रेस स्वतन्त्रता बहाली गर’, ‘प्रेस स्वतन्त्रता जिन्दावाद’, ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गरौं’ भन्ने नारासहितका प्लेकार्ड प्रदर्शन गरिएको थियो ।

आजको प्रदर्शनलाई सम्बोधन गर्दै श्रमजीवी पत्रकार संघ नेपालका अध्यक्ष जन्मदेव जैसीले सम्मानित अदालतबाटै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अवहेलना भएको आरोप लगाए । प्रमाण नष्ट गरेर कसरी छानविन गर्ने ? उनले प्रश्न गरे । पत्रकार जैसीले नेपालको संविधानले ग्यारेन्टी गरेको पूर्ण प्रेस स्वतन्त्रता अपहरण भएकोले तत्काल फिर्ता गर्न र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न माग गरे ।

कार्यक्रममा सहभागी पत्रकार खेम थपलियाले प्रेस स्वतन्त्रताको लागि लालटिन बाल्नुपर्ने अवस्था आएकोले सबैको ध्यान जानुपर्ने बताए । कार्यक्रममा पत्रकार अमिर लामाले प्रेस स्वतन्त्रता हरण गर्ने कार्य जुनसुकै निकायबाट भएको भएपनि आफूहरुलाई अस्वीकार्य भएको बताए ।

कार्यक्रममा पत्रकार तथा प्रेस चौतारी नेपाल, काठमाडौं जिल्ला कोषाध्यक्ष राम कार्कीले सर्वोच्चको आदेशले राणाकालको झल्को दिएको बताउँदै पत्रकारहरु सडकमा उत्रनु बाध्यता भएको बताए ।

लालटिन बोकेर सडकमा उत्रिएका पत्रकार धनबहादुर मगरले राजतन्त्रकालको २०४७ सालकै संविधानबमोजिम पनि संकटमा नपरेको प्रेस स्वतन्त्रता अहिले चरम संकटमा परेको भन्दै बचाउको लागि सबै एकजुट हुनुपर्ने बताए । ‘म नौ–नौ पटक पक्राउ परें, उतिबेला राजतन्त्रसहितको संविधान थियो, मलाई न्यायालयले बचायो, यसपटक न्यायालयले नै प्रेस स्वतन्त्रता कुल्चने काम भयो ।’

कार्यक्रमका संयोजक तथा पिपुल्स भोलेन्टियर्स जर्नालिष्ट फोरमका संयोजक नबराज न्यौपानेले न्यायालयको आदेशले प्रेस स्वतन्त्रतालाई संकटमा पारेको, समाचार लेख्ने पत्रकारलाई फौजदारी अभियोग र समाचार हटाउन आदेश दिने कार्य क्षेत्राधिकार मिचेर, संविधानलाई कुल्चेर गरिएकोले संघर्षमा होमिन बाध्य भएको स्पष्टा पारे ।

प्रेस स्वतन्त्रताको रक्षाको लागि जस्तोसुकै संघर्ष गर्न तयार रहेको बताउँदै न्यौपानेले जुन विधिबाट प्रेस स्वतन्त्रताको घाँटी निमोठ्ने काम भएको हो त्यही विधि र प्रक्रियाबाट सच्याउन माग गरे । साथै, प्रेस स्वतन्त्रताको पक्षमा निरन्तर लालटिन जुलुस प्रदर्शन जारी राखिने समेत उनको भनाई थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot