Logo

उपेन्द्रविरुद्ध योजना बेचेको र आफ्नै मन्त्रीसँग पैसा असुलेको आरोप



काठमाडौं, २४ वैशाख । जनता समाजवादी पार्टीका उपमहासचिव प्रदीप यादवले उपेन्द्र यादवले एकलौटी ढंगले प्राइभेट कम्पनी जसरी पार्टी चलाएको आरोप लगाएका छन् । पार्टी विभाजनपछि आज (सोमबार) नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले उपेन्द्रको तानाशाही प्रवृत्तिका कारण पार्टी विभाजन भएको बताएका हुन् । उनले उपेन्द्रले ‘गणेश परिक्रमा’ गर्नेलाई पार्टीमा धेरै महत्व दिएर योग्य र सक्षम नेताहरुलाई वास्ता नै नगरेको बताए ।

‘उहाँले एकलौटी ढंगले पार्टी चलाउनुभयो । पार्टीमा सामूहिक निर्णय नगर्ने, तानाशाही प्रवृत्ति राख्ने, गणेश परिक्रमा गर्नेलाई धेरै महत्व दिने, ७ वटा भोट हुनेलाई प्रदेश अध्यक्ष बनाउने, जिल्ला अध्यक्ष बनाउने, समानुपातिक सांसद बनाउने जस्ता काम भएको हुनाले हामीले नयाँ दल दर्ता गरेर अगाडि बढ्नु परेको छ,’– उनले भने ।

साथै, उपेन्द्र यादवले संघीयता नै मास्न खोजेको उनको आरोप छ । उनले उपेन्द्रलाई मन्त्रीहरुलाई योजना बेच्न लगाएको र आफ्नै मन्त्रीसँग पनि पैसा असुल गरेको आरोप लगाए । ‘उहाँले संघीयता नै मास्ने, आफ्नै मन्त्रीलाई योजना बेच्न लगाउने, आफ्नै मन्त्रीसित पैसा असुल गर्ने यो सब धन्दाले गर्दा पार्टीभित्र चरम असन्तुष्टि थियो । स्थानीय तह, प्रदेशदेखि केन्द्रसम्मको असन्तुष्टिको कारणले गर्दा र उहाँ एकलौटी ढंगले चलेको हुनाले, पार्टीलाई उहाँले प्राइभेट लिमिटेड कम्पनी जसरी चलाउनु भएको कारणले गर्दा हामीले बाध्य भएर नयाँ दल दर्ता गर्नुपर्ने परिस्थिति आयो,’– उनले भने ।

उपेन्द्र यादवका कर्तुतका एक–एक प्रमाण आफूसँग रहेको पनि उनले दाबी गरे । कुनै कुरा पनि अब नलुक्ने र सबै बाहिर ल्याइदिने उनले चेतावनी दिए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्

Screenshot