Logo

बजेट अधिवेशन सञ्चालनबारे प्रमुख दलहरूसँग आज छलफल गर्दै सभामुख



काठमाडौं, वैशाख २५ । सभामुख देवराज घिमिरेले बजेट अधिवेशन सञ्चालन गर्ने विषयबारे सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका अध्यक्षरसभापतिसँग आज छलफल गर्ने भएका छन् ।

सभामुखले आज बिहान साढे ११ बजे सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा छलफल गर्न लागेका हुन्। सभामुखले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई छलफलका लागि बोलाएका हुन् छन् ।

सहकारीको रकम हिनामिना प्रकरणमा रास्वपा सभापतिसमेत रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता सम्बन्धमा छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै प्रमुख प्रतिपक्षी कांग्रेसले अघिल्लो अधिवेशनको अन्त्यतिर निरन्तर बैठक अवरोध गरेको थियो। कांग्रेसले संसदीय छानबिन समिति गठनलाई बटम लाइन बनाएर अघि बढेको छ ।
सभामुख घिमिरेले यसअघि पनि संसद् खुलाउने विषयमा पटक पटक प्रयास गरेपनि त्यसबारे सहमति जुट्न सकेको छैन ।

सरकारले प्रत्येक वर्ष जेठ १५ गते वार्षिक आयव्ययको अनुमानित विवरण प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले सङ्घीय संसद्का दुवै सदनको बैठक आह्वान गरेका छन् । विगतमा ‘प्रि–बजेट’ छलफल हुने गरेकामा यस वर्ष बजेटका प्राथमिकता र सिद्धान्तमा हिउँदे अधिवेशनमा नै त्यो कार्य पूरा भइसकेको छ ।

प्रतिनिधिसभा र राष्ट्रियसभामा गरी २६ वटा विधेयक विचाराधीन छन् । राष्ट्रियसभामा मिडिया काउन्सिल विधेयक दर्ता भएको छ । प्रतिनिधिसभामा दर्ता भएका २४ वटा विधेयकमध्ये १४ वटा विषयगत समितिमा र १० वटा राष्ट्रियसभामा विचाराधीन छन् ।

प्रमुख विपक्षी दल नेपाली कांग्रेसले जनताले बचत गरेको रकम विभिन्न सहकारीले हिनामिना गरेकालगायत विषयमा छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै लामो समयसम्म संसद् अवरोध गरेपछि संसद्को हिउँदे अधिवेशन अन्त्य भएको थियो ।



प्रतिक्रिया दिनुहोस्