Logo

नीति तथा कार्यक्रममा अवरोध नगरिदिन प्रचण्डको आग्रह, संसदीय दलको बैठकले निर्णय गर्ने कांग्रेसको जवाफ



काठमाडौं, जेठ १ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले आज सार्वजनिक गर्न लागेका आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई अवरोध नगर्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई आग्रह गरेका छन् । प्रधानमन्त्री प्रचण्डले आज बिहान कांग्रेस नेताहरुसँग बालुवाटारमा गरेको छलफलमा कांग्रेसको माग सम्वोधनका लागि आफुले अधिकतम प्रयास गरिरहेको भन्दै आजको संसद बैठक अवरोध नगरिदिन अनुरोध गरेका हुन् ।

सहकारी ठगीको विषयमा संसदीय छानबिन समितिको माग गर्दै आएको कांग्रेसले राष्ट्रपतिको सम्बोधन समेत अवरोध गर्ने जनाएपछि प्रधानमन्त्री प्रचण्डले कांग्रेस नेताहरुलाई बालुवाटार बोलाएर उक्त आग्रह गरेका हुन् । प्रधानमन्त्रीसँगको छलफलमा सहभागी महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीको आग्रहबारे कांग्रेसले संसदीय दलको बैठकमार्फत निर्णयमा पुग्ने जवाफ दिएर बालुवाटरबाट बाहिरिएका छन् ।

बालुवाटरबाट बाहिरिएपछि प्रधानमन्त्रीसँगको छलफलबारे जानकारी दिदै कांग्रेसका प्रमुख सचेतक लेखकले भने, ‘प्रधानमन्त्रीले सहकारी ठगी प्रकरणमा भएको समस्या समाधानका लागि मैले पूरै कोसिस गरिराखेको छु, मैले समस्या समाधान गर्छु, तपाईंहरुले नीति तथा कार्यक्रम प्रस्तुत गर्न सहयोग गरिदिनुस् भन्नुभयो ।’

नेपाली कांग्रेसले भने सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति नबने सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुन नदिने चेतावनी दिएपछि प्रधानमन्त्री प्रचण्डले संसदको गतिरोध अन्त्यका लागि छलफल गर्न कांग्रेस नेताहरुलाई बालुवाटर बोलाएका थिए । संघीय संसदका दुवै बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आज सम्बोधन गर्ने कार्यसूची छ । दिउँसो ३ बजे राष्ट्रपति पौडेलले संघीय संसदलाई सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछन् ।



प्रतिक्रिया दिनुहोस्