Logo

उपेन्द्रलाई जस्तै आफूहरुलाई पनि सरकारबाट गलहत्याउन लागिएको माधव नेपालको संकेत



काठमाडौं, १ जेठ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सत्ता गठबन्धनको मुख्य घटक नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को भूमिकाको आलोचना गरेका छन् । नेपालले गठबन्धनको मुख्य घटक नै रहेको उपेन्द्र यादवको पार्टी विभाजनमा प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीको हात रहेको संकेत गरेका हुन् ।

आजबाट सुरू भएको केन्द्रीय कमिटी बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे विश्लेषण गर्दै अध्यक्ष नेपालले जसपा विभाजित गराईएको दाबी गरे । उनले उपेन्द्र यादवलाई जबरजस्ती सरकारबाट गलहत्याएर निकालिएको पनि टिप्पणी गरेका हुन् । उनले आफूहरुले उपेन्द्रको त्यो अवस्था हेरेको भन्दै प्रधानमन्त्री दाहालले आफूहरुप्रति पनि त्यस्तै व्यवहार गर्नलागेको संकेत गरेका हुन् ।

सत्ता गठबन्धनबाट बाहिरिनको लागि पार्टीका अधिकांश नेता तथा कार्यकर्ताहरुको दबाब आएको बेलामा माधव नेपालको यस्तो टिप्पणी आएको हो । प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष ओलीसँगको सल्लाहमा एकीकृत समाजवादीबाट सरकारमा सहभागी भएका मन्त्रीहरुलाई विदा गरेर नागरिक उन्मुक्ति र जनमत पार्टीलाई सरकारमा सहभागी गराउने गृहकार्य थालेका छन् ।

नयाँ दल जसपाबाट रञ्जु ठाकुरलाई पनि मन्त्रालय टुँगो नलागेकोले नियुक्त गर्न ढिलाई भएको छ । ठाकुरले हिजै मन्त्रीको शपथ लिने तयारी थियो । तर, अन्तिममा उनले मन्त्रालयको टुँगो नलागेसम्म शपथ नखाने अडान लिएपछि उनको नियुक्ती रोकिएको हो । प्रधानमन्त्री दाहालले आम जनता पार्टीका अध्यक्ष प्रभु साह र स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहमध्ये एकलाई पनि मन्त्री बनाउनेगरि तयारी थालेका छन् ।

Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्