Logo

बागमतीमा संसदीय समितिको नेतृत्व चयनका लागि आज मनोनयन दर्ता, भोली निर्वाचन



काठमाडौं, जेठ ४ । बागमती प्रदेशमा संसदीय समितिहरूको नेतृत्व चयनका लागि आज मनोनयन दर्ता हुने भएको छ । सबै समितिहरुको मनोनयन दर्ता समय दिउँसो ३ बजेदेखि साझ ५ बजेसम्मलाई निर्धारण गरिएको छ ।

संसद् सचिवालयले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार प्रदेशसभा नियमावली (पहिलो संशोधन) २०७४ को अनुसूची( ३ बमोजिम समितिका कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भनी सम्बन्धित समिति कै अर्का सदस्यको समर्थनमा मनोनयन प्रस्ताव दर्ता गराउन सक्नेछन् ।

प्रकाशन भएको मतदाताको अन्तिम नामावलीमाथि दाबी विरोध, उम्मेदवारमाथिको दाबी विरोध, उम्मेदवारको अन्तिम नामावली प्रकाशन र निर्वाचन प्रक्रियाको समय समिति अनुसार फरक(फरक निर्धारण गरिएको छ ।

सर्वसम्मत रुपमा सभापति चयन गर्ने दलहरुको प्रयास असफल भएपछि नेतृत्व चयन निर्वाचनमार्फत् हुने गरी प्रक्रिया अघि बढेको हो । निर्वाचन कार्यतालिका अनुसार भोली शनिबार मतदान हुनेछ ।

प्रदेश सभामा प्रदेश मामिला समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, उद्योग पर्यटन तथा वातावरण समिति र शिक्षा, स्वास्थ्य तथा कृषि समिति गरी पाँचवटा विषयगत समिति रहेका छन् । सबै समितिहरुको नेतृत्व चयन निर्वाचनमार्फत् नै हुन लागेको हो ।

निर्वाचित समितिका सभापतिहरूको शपथग्रहण कार्यक्रम जेठ ६ गते बिहान १०ः३० बजेलाई निर्धारण गरिएको छ । समिति बैठक हाल ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्