Logo

संसदमा भएको हंगामापछि सत्तापक्ष र प्रतिपक्षबीच बढ्यो दुरी, आज फेरि बैठक बस्दै



काठमाडौं, जेठ ४ । विहीबार संसदमा भएको हंगामापछि सत्तापक्ष र प्रतिपक्षको दुरी थप बढेको छ । यही विवादका बीचमा शुक्रबार पनि प्रतिनिधिसभाको बैठक बोलाइएको छ ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने कार्यसूची रहेको छ। सभामुखले प्रतिनिधि सभा नियमावली २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरू मनोनयन गर्ने कार्यसूची रहेको छ।

त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले गरेको सम्बोधनप्रति टेबुल गर्ने कार्यसूची रहेको छ। यस्तै राष्ट्रपति पौडेलले गत जेठ १ गते संघीय संसदको दुवै सदनमा गरेको सम्बोधनका लागि धन्यवाद प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

प्रतिनिधि सभा बैठक बस्ने, नबस्ने अन्योल भने कायमै छ। सहकारीको बचत अपचलनबारे गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नका लागि समिति गठन गर्नुपर्ने कांग्रेसको माग छ । यसैक्रममा बिहीबारको बैठकमा तनाब सिर्जना भएको थियो । आजको बैठकमा कसरी प्रस्तुत हुने भन्ने नीति तय गर्न कांग्रेसले शुक्रबार बिहानै संसदीय दलको बैठक बोलाएको छ ।



प्रतिक्रिया दिनुहोस्