Logo

‘फर्की फर्की’ लिएर दर्शकमाझ आउँदै अनमोल



काठमाडौं, जेठ ५ । अभिनेता अनमोल केसी यतिबेला करियरको १० औं वर्षको दौडमा छन् । अभिनयमा दशक यात्रा गर्दै गर्दा उनी १० औं फिल्म ‘फर्की फर्की’ लिएर यही जेठ १० गते दर्शकमाझ आउँदैछन् । यो पनि उनकालागि एउटा संयोग नै मान्नपर्छ । १० अंकले उनलाई ठूलै अर्थ राख्दैछ ।

दशकको यात्रामा अनमोलले आफूलाई लभरब्वाई, खेलाडी, ग्याङस्टारका रुपमा दर्शकमाझ उभ्याए । यिनै अनमोल टाइम ट्राभलको कथा रहेको फिल्म ‘फर्की फर्की’मा म्याडी चरित्रमा देखिँदैछन् । ‘मेगास्टार’ ट्यागसमेत पाएका अनमोल यो फिल्ममार्फत करिब डेढ वर्षपछि दर्शक माझ आउन लागेका हुन् । फिल्मको सार्वजनिक ट्रेलरमा उनले आफूलाई ‘भगवान’ मानेका छन् ।

अनमोल फिल्मको संवाद अनुसार आफूले आफूलाई भगवान भनेको बताउँछन् । ‘वास्तविकतामा म आफूलाई भगवान मान्दिनँ । जो मान्छेले समयलाई नियन्त्रण गर्न र अघिपछिको जीवनलाई परितर्वन गर्न सक्छ, त्यो सन्दर्भमा उसले आफूलाई भगवान महशुस गर्ने हो । यो रामायण वा महाभारतको जस्तो भगवान होइन । फिल्ममा म्याडीले आफू भगवान हो भन्ने कुरामा विश्वास गर्छ’, अनमोल भन्छन् ।

मानिसले कुन बेला आफूलाई भगवान महशुस गर्छ त ? यो प्रश्नमा अनमोलको बुझाई आफ्नै छ । ‘कसैलाई आफूलाई यो दुनियाँ आफ्नै कब्जामा छ भनेर महान अनुभव गर्छ । उसले आफूले गरेका जे कुरा पनि सही नै हो भन्ने ठान्छ । तब आफूलाई भगवानको महशुस गर्छ’, अनमोल भन्छन् ।

अनमोलका अनुसार फिल्मको स्क्रिप्टमा ‘भगवान’ आए पनि दर्शकले म्याडीको समयमा उसको संघर्षदेखि उसको गलत समय, सही समय, परिवारसँग र साथीभाईसँगको सम्बन्धको कुरा हेर्न पाउनेछन् ।

अनमोलका लागि वर्ष २०८० सुखद रहेन । उनी अभिनित फिल्म ‘छड्के २’ बक्सअफिसमा फ्लप भएपछि सामाजिक सञ्जालमार्फत फिल्म असफल भएको स्वीकारेका थिए । अन्य फिल्ममा सफलता पाएका उनलाई फिल्म ‘छड्के–२’ले निकै नमिठो असफलता चखाउको थियो । फिल्म ‘फ्लप’ मात्रै हैन ‘सुपर फ्लप’ नै भएको थियो । त्यसैवर्ष निर्माता तथा निर्देशक सुर्दशन थापाले ‘आपराधिक विश्वासघात’को आरोप लगाउँदै प्रहरीमा उजुरी दिएपछि उनी प्रहरी हिरासतमा तीन दिन बसेर रिहा भएका थिए ।

यी दुई घटनालाई आफूले नराम्रो सपनाका रुपमा लिने गरेको अनमोल सुनाउँछन् । ‘भनिन्छ, सबै मानिसको जीवनमा एकचोटी साढे ७ को दशा आउँछ । शिवजीको जीवनमा पनि त्यस्तै भएको थियो रे । यी दुई कुरालाई एउटा नराम्रो सपनाको रुपमा लिन्छु’, उनी भन्छन्, ‘छड्के २को असफलताले मलाई जीवनमा ‘एउटा विन्दुमा पुगेर मेहनत गर्नुपर्छ । मेहनत अझ पुगेको छैन’ भनेर हौसला दिएको छ । यो नै मेरा लागि महत्वपूर्ण पाठ हो ।’

अनमोलका लागि ‘फर्की फर्की’ मानसिक रुपमा चुनौतीपूर्ण रहेछ । ‘म गत वर्ष मानसिक रुपमा कमजोर पनि थिएँ । मेरो शक्तिलाई पुनः बाहिर ल्याउनका लागि मानसिक दबाबका बाबजुद पनि फर्की फर्कीमा काम गर्नु ठूलो चुनौती थियो । त्यहीकारण धेरै प्रोजेक्टमध्ये मैले फर्की फर्की नै छानें’ उनी भन्छन् ।

दर्शकले आफूलाई ‘फर्की फर्की’मा ‘बेटर एक्टर’का रुपमा देख्न पाउने अनमोलले दाबी गरे । ‘जुन बेला अभिनय थाहा थिएन, त्यो समयमा मैले ‘होस्टेल’, ‘जेरी’, ‘ड्रिम्स’मा अभिनय गरें । यी फिल्मलाई दर्शकले मनपराउनुभयो । अहिले कलाकारका रुपमा समय, अनुभव र दक्षताले पनि धेरै कुरा सिक्ने मौका पाएको छु । मलाई ‘फर्की फर्की’मा अझ बेटर एक्टर देख्नुहुनेछ’, उनले भने ।
यस्तै, अनमोललाई फिल्ममा भगवानको रूपमा प्रस्तुत गर्दा कस्तो अनुभूति भयो चने पश्न गर्दा उनी चन्छन्, ‘फिल्ममा संवाद भए पनि, म आफै आफैलाई भगवान चाँहि मान्दिन । त्यो एउटा रोल थियो, त्यही भएर प्रस्तुत गर्दा खेरि अब भनौ न जो मान्छेले समय नियन्त्रण गर्न सक्छ र समय अगाडि पछाडिको जीवन परिवर्तन गर्न सक्छ भने त्यो सन्दर्भमा चाहिँ आफूले आफैलाई होस् या जोकोहीलाई पनि भगवान लाग्ने नै भैहाल्यो । त्यो मान्छेले जीवनमा समय नियन्त्रण गरेर माथि र तल त्यो दुबै नै होला । तर, त्यो बिन्दुमा त्यो पात्रको यात्रामा उसले आफूले आफैलाई भगवान भने र रामायण र महाभारत जस्तो कथा पनि हैन, त्यो पात्र आफ्नो लागि चाहिँ भगवान भएको हो भन्ने चिजमा उसले विश्वास गर्छ र त्यो भूमिका पूरै फिल्मभित्र चाहिँ मैँले निर्वाह गर्न पाएको छु ।,’

रोहित अधिकारीको निर्माण र सुयोग गुरुङको लेखन तथा निर्देशन रहेको फिल्म ‘फर्की फर्की’मा अनमोलले अभिनेत्री जसिता गुरुङसँग अनस्क्रिन रोमान्स गर्दैछन् । फिल्ममा निर्मल शर्मा, लोकेन्द्र लेखक, सलोन बस्नेत, रवि काफ्ले र समृद्धि अर्याललगायतको अभिनय छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot