Logo

केपी ओलीको प्रशंसा गर्दै सुहाङको टिप्पणी : उहाँको खटाई, अध्ययन र सक्रियता हेर्दा हामीभन्दा धेरै युवा त उहाँ हुनुहुन्छ



काठमाडौं, ५ जेठ । नेकपा (एमाले) का युवा नेता तथा सांसद सुहाङ नेम्वाङले अग्रजको अनुवभ र युवाहरुको जोशले देशलाई समृद्धिको यात्रामा डोर्याउन सकिने बताएका छन् । आज (शनिबार) काठमाडौंमा आयोजित ‘राजनीतिमा युवा’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘हामी युवा विचारले हुन्छौं । अध्ययनले हुन्छौं । पहलकदमीले हुन्छौं । हामी युवा सक्रियताले हुन्छौं, सिर्जनाले हुन्छौं । उमेर भनेको एउटा अंकमात्रै हो । यो कुरा हाम्रा धेरै अग्रजले पुष्टि गरिसक्नुभएको छ ।’

सो क्रममा अध्यक्ष केपी शर्मा ओलीको खटाईको प्रशंसा गर्दै नेम्वाङले भने–‘उहाँको खटाई हेर्दा, उहाँको अध्ययन, विचार अनि सक्रियता हेर्दा हामीभन्दा धेरै युवा त मैले उहाँलाई देख्छु । त्यहीकारणले युवाको मानक भनेको निरन्तर सक्रियता, अध्ययन र पहलकदमी हो । युवाहरु राजनीतिसँग जोडिँदा धेरै महत्वपूर्ण भूमिका खेल्न सकिन्छ । हाम्रो तथ्यांक हेर्दा अहिले हामी ४२.५६ प्रतिशत युवाहरु रहेछौं । विकास र प्रगतिको यो उर्वर समय हो भनेर बुझ्न सक्छौं । अहिले विदेश पलायन हुनेको तथ्यांक पनि बढेको छ । यो उहाँहरुको बाध्यता हो । अर्थतन्त्रमा निकै कठिन अवस्था छ । राजनीतिक अवस्थापनि त्यस्तै छ । त्यसलाई सुधार गर्नुपर्छ । अग्रजसँग मिलेर यो अवस्थाको सुधार गर्नुपर्छ । एमालेले युवाहरुलाई पटक–पटक स्थान दिएको छ । अवसर दिएको छ ।’

उनले अहिलेको आवश्यकत्ता युवा भनिरहँदा अग्रजहरुको योगदान र बलिदानीलाई बिर्सन नहुने बताए । उनले भने,‘उहाँहरुको पुस्ता निरंकुश शासनसँग लडेको हो । अनि देशमा व्यवस्था परिवर्तन भएको हो । यो व्यवस्था परिवर्तनको लागि लडाईंसँगै देशको विकास पनि भएको छ । हो, विकास चाहीँ पर्याप्त छैन् । हामीले गर्नुपर्छ ।’

भारत, चीन, जापान, कोरिया र अमेरिकाले पनि नकारात्मक सोच राखेर अघि बढेको भए आजको अवस्थामा आईनपुग्ने उनको विश्लेषण थियो । उनले भने,‘सोचमा सकारात्मकता हुनुपर्छ । देशमै रोजगारीको सिर्जना गर्नुपर्छ । युवा भएको नाताले अँध्यारोमा पनि उज्यालो खोज्ने हाम्रो दायित्व हो ।’

उनले आफूले देशमा अहिले दुई वटा भनाईमा अति देखेको सुनाए । उनले भने,‘एउटा बुढाखाकाले केही गर्न सक्दैनन् युवा आउनुपर्छ भन्ने भाष्य छ । यो अति हो । युवालाई देश जिम्मा लायो भने देशलाई भड्खालोमा हाल्छन् भन्ने अर्को अतिवादी कुरा छ । यीदुवै सोच अति हो । मदन भण्डारीपनि ३९ वर्षको उमेरमा नेतृत्वमा हुनुहुन्थ्यो । युवाले केही गर्न सक्दैन भन्ने भाष्यलाई चिरेर अघि बढ्नुपर्छ । अहिलेको आवश्यकत्ता अग्रजसँगसँगै युवा हो । अग्रजको अनुभव र युवाको उर्जा आजको आवश्यकत्ता हो । युवाले तथ्यमा बोल्नुपर्छ । अरे नि भन्ने शब्द अब हटाउनुपर्छ । हामी युवा पुस्ता भ्रामक कुराबाट पर बस्नुपर्छ । सामाजिक सद्भावलाई एकता बनाउनुपर्छ ।’

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot