Logo

इजरायली मन्त्रीमण्डलका सदस्य गान्ट्जद्वारा गाजा युद्धको योजना माग, राजीनामाको चेतावनी



तेल अभिभ (इजरायल), ६ जेठ । गाजामा जारी युद्धलाई लिएर इजरायली नेताहरूमा बढ्दै गइरहेको तनावकाबीच इजरायली युद्ध मन्त्रीमण्डलका सदस्य बेनी गान्ट्जले तीन हप्ताभित्र गाजा युद्धको लागि नयाँ योजना नआए सरकारबाट राजीनामा दिने चेतावनी दिएक छन् । उनको यो कदमले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई आफ्नो अति–दक्षिणपन्थी सहयोगीहरूमा बढी निर्भर बनाउनेछ ।

पूर्व इजरायली रक्षामन्त्री गान्ट्जले युद्ध मन्त्रीमण्डललाई जुन ८ सम्म हमासविरुद्ध युद्धको योजना बनाउन माग गरेका छन् । शनिबार राति रामत गान सहरमा गान्ट्जले आफ्ना मागहरू पूरा नभए आफू सरकारबाट बाहिरिने चेतावनी दिए ।

“नयाँ योजना योजनाले हमास आन्दोलनलाई निस्तेज पार्नुपर्छ, । बन्धकहरूलाई फिर्ता ल्याउनुपर्छ, गाजा पट्टीमा वैकल्पिक सरकार स्थापना गर्नुपर्छ, इजरायली बासिन्दाहरूलाई इजरायलको उत्तरमा फिर्ता ल्याउनुपर्छ र साउदी अरबसँगको सम्बन्ध सामान्यीकरण गर्ने योजना बनाउनुपर्छ,” उनले भने ।

प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले ‘विजय र विपत्’ बीच छनोट गर्नुपर्ने गान्ट्जले बताए ।

“यदि प्रधानमन्त्री नेतान्याहुले राष्ट्रलाई सङ्कटतर्फ धकेल्नुहुन्छ भने हामी सरकारबाट बाहिरिनेछौँ, जनता सामु जानेछौँ र वास्तविकरूपमा हमासलाई पराजीत गर्न सक्ने सरकार बनाउनेछौँ,” गान्ट्जले भने ।

गान्जको यो अल्टिमेटम वर्तमान रक्षामन्त्री योव ग्यालान्टले सार्वजनिक रूपमा युद्धपछिको योजनाको माग गरेको र गाजामा इजरायली शासनको विरोध गर्ने चेतावनी दिएको केही दिन पछि आएको हो । गान्ट्जले रफाहमा इजरायली सैन्य कारबाहीको रक्षा गर्दै सहरलाई हमासको पुनरुत्थानको द्वार भएको बताएक छन् । इजरायली र प्यालेस्टिनीबीच शान्ति प्राप्त गर्न हमास गाजामा रहनु हुदैँन र रफाहबाट हटाउनुपर्छ ,गान्ट्जको भनाइलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ ।

उहाँले युद्धले नागरिकहरूमा पारेको हानिकारक प्रभावलाई स्वीकार गर्दै ‘निर्णायक कदम’ आवश्यक रहेकोमा जोड दिए ।

यसैबीच, इजरायली प्रधानमन्त्री कार्यालयले बेनी गान्ट्जको सरकार छोड्ने धम्कीलाई अस्वीकार गर्दै हमासविरुद्धको युद्ध योजनाका लागि उनले दिएको अल्टिमेटमले इजरायललाई हानि पुर्‍याउने बताएको छ ।

“यही अवस्थामा युद्धको अन्त्य, अधिकांश बन्धकहरूलाई वेवास्ता गर्नु, हमासलाई यथास्थितिमा छोड्नुु र प्यालेस्टिनी राज्यको स्थापना गर्नुले इजरायलको पराजय हुने भन्ने गान्ट्जको धारणा सुन्दा लोकप्रिय भएपनि व्यवहारमा लागु गर्न कठिन काम हो,” प्रधानमन्त्री कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कार्यालयले गान्ट्जलाई उनी हमासलाई गाजाबाट हटाउन, गाजामा प्यालेस्टिनी अधिकारीहरुको परिचयको विरोध गर्न र प्यालेस्टिनी राज्यको स्थापनाको विरोध गर्न कटिबद्ध छन् कि हुनुहुन्न भनी प्रश्नसमेत गरेको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहु यी तिनै बुँदाप्रति प्रतिबद्ध रहेको सिएनएनले जनाएको छ ।

“प्रधानमन्त्री नेतान्याहूले सबै बन्धकहरूको फिर्तीसहित युद्धका सबै लक्ष्यहरू हासिल गर्नका लागि सङ्कटकालीन संयुक्त सरकार गठन महत्त्वपूर्ण रहेको बताउँदै गान्ट्जसँग यी मुद्दाहरूमा जनतालाई आफ्नो स्थिति स्पष्ट पार्न आग्रह गर्नुभएको छ,” विज्ञप्तिमा भनिएको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot