Logo

प्रचण्डसँग वारपारको लडाईंमा उपेन्द्र, देउवासँगको सल्लाहपछि विश्वासको मत लिनबाट रोक्न अदालत गुहारे



काठमाडौं, ६ जेठ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो विभाजनको विवाद अदालतबाट टुँगो नलागेसम्म प्रधानमन्त्री पुष्पकमल दाहालले भोलि लिने भनिएको विश्वासको मतको वैद्यतामा प्रश्न उठाउँदै अदालत गुहारेका छन् । उपेन्द्रले दायर गरेको रिटमा आफ्नो पार्टी विभाजन गरेर गएका ७ जना सांसदलाई विश्वासको मत लिने क्रममा सहभागी हुन नदिन भनिएको छ ।

यादवले आजै सर्वोच्च अदालतमा प्रधानमन्त्री दाहालले भोलि जेठ ७ गते लिने भनेको विश्वासको मत रोक्नको लागि रिट दायर गरेका हुन् । उनले आफ्नो पार्टी विभाजनको छिनोफानो नभएसम्म प्रधानमन्त्री दाहालले विश्वासको मत लिन नसक्ने भन्दै रिट दायर गरेका हुन् । जसपा, नेपालका सांसद प्रकाश अधिकारीले आज सर्वोच्च अदालतमा रिट दर्ता भएको रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।

प्रधानमन्त्री दाहालले जसपा, नेपालले सरकारबाट समर्थन फिर्ता लिएपछि भोलि जेठ ७ गतेको लागि विश्वासको मत लिने भएका छन् । जसपा, नेपालको विभाजनको अन्तिम फैसला भने अदालतले यही जेठ ८ गते दिने भएको छ । आफूले मागेबमोजिम अन्तरिम आदेश दिनेमा यादव ढुक्क छन् । यादवले निर्वाचन आयोगको कामकारबाहीमाथि नै प्रश्न उठाएका छन् ।

यादवले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि छलफल गरेको बुझिएको छ । अहिले यादव विपक्षी दलहरु सम्मिलित मोर्चामा सक्रिय भएका छन् । उनी आँफै देउवाले बोलाउने बैठकहरुमा सक्रियताका साथ सहभागी हुने गरेका छन् । उनले साथमा पार्टीका प्रभावशाली नेता राजकिशोर यादवलाई पनि लग्ने गरेका छन् । file photo



प्रतिक्रिया दिनुहोस्