Logo

कांग्रेसलाई गृहमन्त्री लामिछानेको खुला चूनौति : गेम बल्ल सुरू भएको छ (भिडिओसहित)



काठमाडौं, ६ जेठ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले आफूलाई नेपाली कांग्रेसले डेढ वर्षको लागि प्रधानमन्त्रीको अफर गरेको खुलासा गरेका छन् । उनले यसबारेमा सभापति शेरबहादुर देउवालाई प्रष्ट पारिदिन भनेका छन् ।

प्रतिनिधिसभाको आज (आइतबार) बसेको बैठकमा आफूमाथि सहकारी ठगीको आरोप लागेपछि जवाफ दिने क्रममा उनले यस्तो दाबी गरेका हुन् । उनले सार्वभौम सांसदलाई सदनमा बोल्न दिने कुरामा कांग्रेसले अवरोध पुर्याएको भन्दै उसको लोकतान्त्रिक चरित्रमाथि नै प्रश्न उठाए । उनले विपी, गणेशमान, किसुनजीहरुको यस्तै कांग्रेस हो त ? भन्दै प्रश्न गरे । उनले भने,‘लोकतन्त्रको यो कस्तो अभ्यास हो ? म प्रश्न गर्न चाहन्छु ।’

लामिछानेले आफू टेलिभिजनमा काम गर्दा लगानी नगरेको र श्रमबाट प्राप्त हुने रकमलाई सेयरमा राखेको स्पष्टीकरण दिए । उनले आफूले एक रुपैयाँ लगानी नगरेको र छोड्ने बेलामा पनि एक रुपैयाँपनि नलिएको दोहोर्याए । उनले सहकारी ठगी प्रकरणमा आफूमाथि एउटापनि मुद्दा नभएको र अभियोजन दर्ता नभएको स्पष्ट पारे । हिजो सत्तामा हुँदा कांग्रेसले न्वारानदेखिको बल लगाएर आफूलाई दोषी करार गर्न खोजेको पनि उनले आरोप दोहोर्याए ।

उनले अब देश कांग्रेसीहरुको गनगनलेमात्रै नचल्ने चेतावनी दिए । उनले भने,‘यो देश अब तपाईंहरुको गनगनले मात्रै चल्दैन् । आँफै सरकारमा भएको बेला किन कारबाही गर्नुभएन ? अप्रमाािण्त हल्ला चलाएर अनि आरोप लगाएर लखेट्ने ?’ उनले आफ्नो पार्टी कायरहरुको पार्टी नभएको र आफूपनि कायर नेता नभएको उद्घोष गरे । उनले भने,‘रवि लामिछाने कायर नेता होईन । मिडिया ट्रायल गरेर फल खेलेर हराएको हामीलाई स्विकार्य छैन् । म भुईंको मान्छे हुँ । झुक्न चाहीँ एक ईन्चपनि स्विकार्य छैन् ।’

सम्बोधनको क्रममा उनले जिबी राईले गरेको सारा फोहोर आफूले सोहर्नुपर्ने हुन्छ र ? भन्दै प्रश्न गरे । उनले आफू अत्याचार, अन्याय र अति सहन तयार रहेको पनि घोषणा गरे । उनले भने,‘म तयार छु । हाटखुट्टा बाँधेर बोल्न नदिएको हो । विषकुण्डमा चोपल्न खोजेको कुरा दुनियाँले हेरेको छ । संसद् बन्धक नबनोस । बन्द नगरियोस । सर्वाधिक मत ल्याएको व्यक्तिलाई बोल्न नदिने ? यसको पनि इतिहासमा मुल्यांकन होला । सदनबाट नपुगेर सडकसम्म गाली गर्ने कुरा पनि इतिहासले अवश्य मनन गर्नेछ ।’

सदनमा उभिएर लामिछानेले आफ्ना सांसदहरुलाई भने–‘तपाईंको सभापति ठग होईन । ठगी गरेको छैन् । विधिको विडम्बना सहकारी पीडितलाई न्याय दिलाएको मान्छे हुँ म, बदनानी र अपमान सहन तयार छु । यहाँ म दीप श्रेष्ठको एउटा गीत सम्झिन चाहन्छु–आमा तिनीहरुले जेसुकै भनुन् म बहुला होईन ।’

उनले आफ्नो भाग्यपनि अचम्मको रहेको सुनाए । उनले थपे–‘मेरो भाग्यपनि अचम्म छ । टिभीमा हुँदा सबैको तारो बनिरहें, राजनीतिमा हुँदापनि तारोमा छु । कतिपय साथीहरुले मिडिया मिलाउनुहोस भन्नुहुन्छ । म मिडिया मिलाउँदिनँ । म टिकापुर मिलाउाँछु । बाँसबारी मिलाएँ । तर, म मिडिया मिलाउँदिनँ । पेशेवरले रिट हालेको हालैछ । म देश मिलाउँछु । यही दशेमा बसेर जनताको अवस्था मिलाउँछु । संसदीय छानबिन समितिबाट म कहिल्यैपनि डराएको छैन् । कांग्रेस कागजमा मात्रै होईन । आचरणमा लोकतान्त्रिक होस ।’

उनले आफू हिजो नगरिकसमेत नभईकन बसेको मान्छे भएको स्मरण गराउँदै भने,‘म फेरि एकपटक जिरो हुन तयार छु । म देश नै छोड्न तयार छु । रास्वपाका नेताहरुलाई सहभागी नगराई तपाईंहरु नै सहमति गर्नुहोस । समस्याग्रस्त सहकारीको समाधान गरौं । यही अधिवशेनले कानून पारित गर्नसक्छ । एउटा व्यक्तिलाई खुइल्याउने, अपमानित गर्ने अनि बोल्न पनि नदिने अनि निरन्तर लल्कारिने ? यो कस्तो संस्कार हो । भर्खर आएका हामीलाई निमोठ्ने प्रयास भयो । निमोठ्नुपर्नेगरि रास्वपाले गल्ती गरेको छैन् । म जोगाइदिन भनेर याचना गर्न आएको होईन ।’

आफूहरुमाथिको घेराबन्दीले देशैभरिका आफूहरुलाई माया गर्नेहरु पनि डराएको उल्लेख गर्दै उनले अहिले खेल सुरु भएको सुनाए । उनले भने,‘हामीलाई माया गर्नैहरु पनि डराएका छन् । सिट्टी बज्यो भनेर बाहिर हल्ला छ । फुटबल खेलमा पनि तीन पटक सिट्ठी बज्छ । यो चाहीँ खेल सुरु भएको सिट्टी हो । खेल त बल्ल सुरु भएको छ । समाधानको बाटोमा जाऔं । भएका सहमतिमा काम गरौं । सडकमा र सदनमा नन इस्युलाई इस्यु बनाएको हामी प्रतिपक्षी हेर्न चाहँदैनौं । ठूलो हृदय र मन राखेर सदन सुचारु गर्नुहोस ।’

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot