Logo

ज्ञानमणि नेपालस् इतिहास लेखन विधाका अग्रज व्यक्तित्व प्राडा तीर्थप्रसाद मिश्र



काठमाडौँ, ८ जेठ । विक्रम संवत् २०८१ जेठ १ गते मध्याह्नमा नेपालको इतिहासका एक सशक्त लेखक जसले इतिहासलाई कथ्यमा होइन तथ्यबाट नै लेखनमा आफ्नो जीवन अर्पण गरेका थिए । उनी थिए, साहित्यका अविश्रान्त सर्जक, निष्ठाका सगरमाथा, स्वाभिमानी, निर्भिक, मानवताका सरल पात्र ज्ञानमणि नेपाल । यस्ता बहुआयामिक प्रतिभाको अवसानले इतिहास लेखन विधामा अपुरणीय क्षति भएको छ ।

तथापि उनी नेपालीे इतिहासका अध्यता एवं अनुसन्धानकर्ताका मार्गदर्शन बनेर रहिरहनेछ । यस अर्थमा उनको भौतिक शरीर हामीमाझ नभए पनि जीवन्त स्मृति हामी सबैको मानसपटलबाट कहिल्यै हराउने छैन । अतः उनका अजरामर कृतिहरूको स्मरण गर्दै उनीप्रति श्रद्धाञ्जलि व्यक्त गर्नु यो आलेखको उद्देश्य रहेको छ ।

विसं १९८९ माघ १७ गते वसन्त पञ्चमीका दिन पूर्व ४ नम्बर भोजपुरमा ज्ञानमणि नेपालजीको जन्म भएको थियो । वसन्त पञ्चमीका दिन जन्मिएका यी बालक कालन्तरमा सरस्वतीका साधकका रूपमा स्थापित हुनु गजबकै संयोग मान्नुपर्छ ।

उनी घरमा नै प्रारम्भिक शिक्षा लिई २००४ सालमा अध्ययनको सिलसिलामा काठमाडौँ आइपुगेका थिए र उनले पण्डित नयराज पन्तले स्थापना गरेको गुरुकुल रोजेका थिए । यद्यपि त्यसबेला अरू नै नाम चलेका पाठशाला वा स्कुलमा अध्ययन गर्नेको बाहुल्य रहेको थियो । तर, उनको यसै रोजाइले नामको ज्ञानमणिलाई वास्तवमै ज्ञानका मणि बनायो । उनको नाम सार्थक हुन गयो ।

त्यतिबेला पं नयराजको गुरुकुलमा कडा अनुशासन थियो । शिक्षार्थीले दैनिक १० घण्टा अध्ययनमा बिताउनु पथ्र्यो । खाने र थोरै सुत्नेबाहेक गुरुकुलमा पढाइ नै पढाइ थियो । जुन कुरा उनकै मेरो गुरुकुलीय शिक्षा र सहपाठी ग्रन्थमा उल्लेख छ ।

पण्डित नयराज पन्तको गुरुकुल त्यस्तो विद्यालय थियो जहाँबाट कुनै औपचारिक शैक्षिक उपाधि प्राप्त नगरे पनि शिक्षार्थी अब्बल विद्वान हुन्थे । विसं २००४ देखि २०१२ सम्म आठ वर्षको अध्ययनबाट ज्ञानमणिजीलाई आजीवन स्वाध्यायी अनुसन्धानकर्ता र नेपालको इतिहासका विविध विषयमा अनुसन्धान गर्न ऊर्जा प्राप्त भयो ।

विसं २०१२ सालमा संशोधन मण्डलबाट बाहिर आई जन्मथलो पुग्नुभयो र गुरुकुल स्थापना गरी पठनपाठनमा संलग्न हुनुभयो, तर तत्कालीन राजनीतिले गर्दा उक्त विद्यालय लामो समयसम्म टिक्न सकेन । घर व्यवहारमा पनि ध्यान दिनुपर्ने र अध्ययनलाई पनि निरन्तरता दिनुपर्ने अवस्थामा उनी अनुसन्धानको उपयुक्त वातावरण खोज्दै पुनः काठमाडौँ आए । र, यहीँ उनले अन्तिम श्वास फेरे । काठमाडौँ आएपछि त्रिभुवन विश्वविद्यालयको नेपाल र एसियाली अनुसन्धान केन्द्र तथा कालान्तरमा प्रज्ञा–प्रतिष्ठानमा संलग्न नेपालजीको रामकहानी उनकै कृतिमा उल्लेख छ ।

प्रारम्भिककालमा नेपालको इतिहास लेखन विधामा विदेशी लेखकहरूकै बाहुल्य रहँदै आएको देखिन्छ । विसं २००७ पछि भने नेपाली विद्वान्हरूले पनि नेपालको इतिहासका विविध पक्षमा कलम चलाउन थालेका हुन् । सूर्यविक्रम ज्ञवाली, बाबुराम आचार्य, पं नयराज पन्त, डिल्लीरमण रेग्मी, बालचन्द्र शर्मा आदिले नेपालको इतिहासकार विविध पक्षमा विभिन्न कृतिहरू प्रकाशन गरे ।

नेपालको प्रामाणिक इतिहास प्रकाशमा ल्याउन स्वदेशी ऐतिहासिक स्रोतहरूको अन्वेषण गरी सोही आधारमा इतिहास लेख्ने र पूर्वप्रकाशित कृतिमा देखिएका त्रुटिलाई संशोधन गर्ने समेत उद्देश्य राखेर गुरु पण्डित नयराज पन्तद्वारा २००९ सालमा संशोधन मण्डल स्थापना भएको थियो । यिनै महामानव पन्त गुरुद्वारा दीक्षित भएका मूर्धन्य व्यक्तिहरूमध्ये एक थिए, ज्ञानमणि नेपाल ।

धनवज्र वज्राचार्य, गौतमवज्र वज्राचार्य, महेशराज पन्त, दिनेशराज पन्त जस्ता विशिष्ट इतिहास एवम् संस्कृतिविद्हरू सोही संस्थाका उपज छन् । सहपाठीहरूसित मिलेर नेपालले कौटलीय अर्थशास्त्रको ऐतिहासिक व्याख्या (भाग १ र २), इतिहास संशोधन (भाग १ देखि ५), ऐतिहासिक पत्रसङ्ग्रह र जयरत्नाकर नाटक जस्ता कृतिहरू प्रकाशित गरेका थिए। यी सबै ग्रन्थहरू अनुसन्धानमूलक र विश्लेषणात्मक छन् । यी कृतिमा सङ्ग्रह गरिएका सामग्रीहरू नेपालको इतिहासको अध्ययन, अनुसन्धान र अध्यापनका लागि आधिकारिक स्रोत सामग्री हुन पुगेका छन् ।

संशोधन मण्डलबाट बिदा भएर घरव्यवहार यताउता गर्दै २०२७ सालमा काठमाडौँ आई केही अनुसन्धानत्मक संस्थासँग जोडिई विभिन्न अनुसन्धान परियोजनाहरू सञ्चालन गरेका थिए । महिरावण वध नाटक विवेचनात्मक अध्ययन त्रिभुवन विश्वविद्यालयको नेपाल र एसियाली अनुसन्धान केन्द्रबाट प्रकाशित भएको थियो । नेपाल–चीन–तिब्बत सम्बन्ध विषयक अनुसन्धान कार्य पनि सोही अनुसन्धान केन्द्रबाट सम्पन्न गरेका थिए । नेपालको परराष्ट्र मन्त्रालय अभिलेखालय (जैसी कोठा) मा रहेका सामग्री अध्ययन र टिपोट गर्ने अवसर पाउने थोरै विद्वान्हरूमा उनी पनि एक थिए।

उक्त सामग्री केही समयका लागि मात्र अध्ययन अनुसन्धानका लागि खुल्ला गरिएको थियो । २०४६ सालको परिवर्तनपछि ती अमूल्य ऐतिहासिक दस्तावेज केकस्तो अवस्था छन् आधिकारिक सूचना उपलब्ध छैन । तिनै सामग्री उपयोग गरी लेखिएका अनुसन्धनात्मक कृतिहरू हुन्, नेपाल–भोट–चीन सम्बन्धका केही सांस्कृतिक पक्ष तथा नेपाल र चीन तिब्बत सम्बन्ध । नेपाल–भोट–चीन सम्बन्धमा नेपालमा उपलब्ध अभिलेखालयका स्रोतहरू अत्यधिक उपयोग गर्ने अग्रणी अनुसन्धानकर्ता ज्ञानमणि नेपाल नै थिए ।

नेपालका विविध पक्षको इतिहास समेटिएको नेपाल निरुक्त उनको अर्को अनुसन्धानात्मक तथा विश्लेषणात्मक ग्रन्थ हो । पृथ्वीनारायण शाहको अवसानपछि जङ्गबहादुर कुँवर राणाको उदयसम्मको षड्यन्त्रकारी राजनीतिको इतिहास हो, नेपालको महाभारत । नेपालमा षड्यन्त्रकारी राजनीति देखापर्नाका कारणहरू र यसबाट परेका अल्पकालीन र दीर्घकालीन असरहरूको वस्तुनिष्ठ मूल्याङ्कन यस ग्रन्थमा गरिएको छ । नेपाल सुखीम सम्बन्ध उहाँको अर्को महत्वपूर्ण ग्रन्थ हो ।

नेपाल र सिक्किमको सम्बन्धको ऐतिहासिकता, दुवैको सम्बन्धमा आएका गतिरोध, सङ्घर्ष र सम्झौताका प्रसङ्ग यस कृतिका प्रमुख विशेषता हुन् । यी त भए इतिहासकार ज्ञानमणि नेपालका उल्लेखनीय केही प्रकाशनहरू । यसका अतिरिक्त नेपालका ख्यातिप्राप्त पत्रपत्रिका तथा जर्नलहरूमा उहाँका सयभन्दा बढी अनुसन्धानात्मक लेखहरू प्रकाशित भएका देखिन्छन् । यहाँ त केवल उनलाई स्मरण गर्ने सन्दर्भमा उहाँका केही कृतिहरूको समेत स्मरण गर्न खोजिएको हो ।

नेपालको इतिहासलेखन विधामा ज्ञानमणि नेपालको आफ्नै विशिष्ट पहिचान छ । उनीद्वारा लिखित प्रायः सबै प्रकाशनहरू प्राथमिक स्रोतमा आधारित छन् । उनले स्वदेशमा रहेका पुरातात्विक, साहित्यिक एवम् सरकारी कागजपत्रहरूको उपयोग यथेष्ट मात्रामा गरेका छन् ।

यसैगरी पूर्वमध्यकालको इतिहास, मेरो गुरुकुलीय शिक्षा र सहपाठी, नेपालको माध्यमिक कालको इतिहास, अतीतका स्मृति र अनुभूति जस्ता इतिहासका अनुसन्धानमुलक ग्रन्थ प्रकाशन गरी नेपालको इतिहासको क्षितिज फराकिलो बनाए । इतिहास र साहित्यमा कलम चलाउनु हुने ज्ञानमणिजीका पुराना कविता, वनका फूल, संगीतलहरी, किष्किन्धा काण्ड तथा पुण्य शिक्षा जस्ता साहित्यिक कृति पनि पाठकहरूले उपहार पाएका छन् । उनले प्रज्ञा प्रतिष्ठानको प्राज्ञ हुँदा पनि इतिहास र साहित्यको उन्नयनका लागि सार्थक प्रयास गरेका थिए ।

यी कृति तथा उनका लेखहरूमा पूर्वप्रकाशित ग्रन्थहरूमा देखिएका कमीकमजोरीलाई इङ्गित गर्दै सत्यतथ्य घटना उजागर गर्ने प्रयास भएको छ । यो सराहनीय कार्य मानिन्छ । कतिपय ऐतिहासिक प्रसङ्गमा उनले नवीनतम् अवधारणा समेत प्रस्तुत गरेका छन् । आवश्यकताभन्दा बढी वर्णनात्मक हुनु, पूर्वप्रकाशित ग्रन्थलाई यथोचित स्थान नदिनु, विदेशी विद्वान्हरूद्वारा लेखिएका ग्रन्थलाई खासै ध्यान नदिनु तथा इतिहास लेखन विधाका स्थापित मान्यतालाई पूर्णतः अङ्गीकार नगर्नु जस्ता केही सीमा उनको लेखनमा रहने चर्चा यदाकदा गर्ने गरिन्छ ।

तर, ती सबै सामान्य प्रकृतिका सीमा हुन् । सीमा कसमा हुँदैन र कुन कृतिमा रहँदैन ? यस्ता सीमाले उनको उज्जवल योगदानमा ओझेल पार्ने छैनन् । भन्नैपर्छ, नेपालको इतिहास लेखन विधाका एक सशक्त हस्ताक्षर हुनुहुन्थ्यो, ज्ञानमणि नेपाल । उनी भविष्यका इतिहासकारका लागि मार्गदर्शक र प्रेरणाका स्रोत रहेको तथ्यलाई पनि स्वीकार गर्नै पर्दछ ।

नेपालको इतिहास लेखन विधा प्रारम्भिक र चरणमा भएकामा उनले इतिहासलेखन विधालाई नयाँ आयाम दिएका थिए। उनले नेपालको इतिहासका कतिपय अप्रकाशित तथ्य उजागर गरी कैयौँ ऐतिहासिक दस्तावेजसमेत प्रकाशन गरे । उनले लेखेका कृति र लेखहरू अनुसन्धानकर्ताका लागि असल खुराक बन्न पुगेका छन् ।

नेपाल भोट चीनको सम्बन्धको कूटनैतिक इतिहास लेखनका क्रममा यस पंक्तिकारले पनि उल्लेख्य सहयोग र सल्लाह पाएको थियो । उनको सङ्ग्रहमा अझै पनि असङ्ख्य ऐतिहासिक सामग्री एवं प्रकाशोन्मुख कृति होलान् । तिनको समुचित व्यवस्थापन र प्रकाशनमा हामी सबैले ध्यान दिएमा नै उनीप्रति सच्चा श्रद्धाञ्जलि हुनेछ । नेपालको इतिहासमा ज्ञानमणि नेपाल सदैव स्थापित भई भविष्यका इतिहासकारहरूका लागि मार्गदर्शक भइरहने छ । नेपालको इतिहास लेखन विधाका सारथि ज्ञानमणिजीप्रति श्रद्धासुमन व्यक्त गर्दछु । अस्तु ! (लेखक इतिहासविद् हुन्)



प्रतिक्रिया दिनुहोस्