Logo

इरानी राष्ट्रपति राईसीको अन्त्येष्टिमा सहभागिताका लागि दशौँ हजार व्यक्ति तेहरानमा भेला



तेहरान, ७ जेठ । गत आइतबार हेलिकप्टर दुर्घटनामा दिवङ्गत भएका इरानी राष्ट्रपति इब्राहिम राइसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानलगायतको टोलीको अन्त्येष्टि समारोहमा सहभागी हुन दशौं हजार इरानी नागरिक बुधबार तेहरानको सडकमा भेला भएका छन् ।

इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले राष्ट्रपति रायसी, विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियनलगायत हेलिकप्टर दुर्घटनामा मृत्यु भएका सबैका लागि प्रार्थना गर्ने कार्यक्रम रहेको तेहरान विश्वविद्यालय र वरपर राईसीका प्रशंसकहरूले उहाँको तस्वीर बोकेर भेला भएका इरानी सञ्चारमाध्यमले देखाएका छन् ।

अजरबैजानसँगको सीमामा बाँध परियोजनाको उद्घाटन समारोहमा सहभागी भएपछि उत्तरी इरानको ताब्रीज शहर जाने क्रममा आइतबार उत्तरी इरानको कुहिरोले ढाकेको पहाडमा राईसी सवार हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो ।

सरकारी टेलिभिजनले सोमबार बिहानै रायसीको निधन भएको घोषणा गरेको हो ।

खामेनीको उत्तराधिकारीका रूपमा सर्वोच्च नेताका रूपमा अपेक्षा गरिएका राईसी ६३ वर्षको थिए ।

राजधानीमा दिवङ्गत राष्ट्रपति रायसीलाई ‘सेवाका शहीद’ भनेर प्रशंसा गर्दै ठूल्ठूला ब्यानर टाँगिएका छन् भने उनीहरूले आफूहरू ‘विपन्नका सेवक’ नेताको अन्तिम बिदाइमा सरिक हुन उपस्थित भएको जनाएका छन् ।

विदेशी उच्चपदस्थ अधिकारीसमेतको सहभागिता रहने उक्त जुलुस विश्वविद्यालयबाट निस्केर शहरको मध्यभागमा रहेको विशाल एन्घेलाब स्क्वायरमा जाने योजना रहेको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

ताब्रिज शहर र कोम कोमको शिया लिपिक केन्द्रमा हजारौँको सङ्ख्यामा कालो पहिरनमा शोक मनाइरहेका मानिसको उपस्थितिमा दिवङ्गत राष्ट्रपति र उनको भ्रमण दलमा रहेको टोलीको अन्त्येष्टि संस्कार मङ्गलबारदेखि सुरु भएको हो ।

तेहरानबाट शवलाई दक्षिण खोरासान प्रान्तमा लगिने छ र त्यसपछि उत्तरपूर्वमा रहेको राईसीको गृह नगर मशादमा लगिनेछ, जहाँ बिहीबार साँझ इमाम रेजा दरगाहमा इस्लामिक परम्परा अनुसार अन्तिम संस्कारपछि उनको अन्त्येष्टि गरिनेछ ।

खामेनीले इरानी संविधान अनुसार राष्ट्रपति रायसीको मृत्युपछि उनको सम्मानमा पाँच दिनको राष्ट्रिय शोकको घोषणा गरेका छन् भने ६८ वर्षीय उपराष्ट्रपति मोहम्मद मोख्तरलाई आगामी जुन २८ मा हुने निर्वाचनसम्म कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी तोकेका छन् ।

इरानले शीर्ष आणविक वार्ताकार अली बागेरीलाई कार्यवाहक विदेशमन्त्रीको जिम्मेवारी दिएको छ ।

इरानी सशस्त्र बलका प्रमुख मोहम्मद बागेरीले हेलिकप्टर दुर्घटनाको कारणबारे अनुसन्धान गर्न सुरक्षा निकायलाई आदेश दिएका छन् ।

इरानको आणविक गतिविधिलाई लिएर अमेरिकी प्रतिबन्धका कारण अर्थतन्त्र धरासायी भइरहेका बेला रायसी सन् २०२१ मा उदारवादी हसन रौहानीको स्थानमा राष्ट्रपति निर्वाचित भएका थिए । रासस



प्रतिक्रिया दिनुहोस्