गलेश्वर (म्याग्दी), ९ जेठ । एक सय १० वर्षअघि विसं १९७१ मा बन्द भएको म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीस्थित रुमलेभिरको तामाखानी अलपत्र अवस्थामा छ । तामाखानी विसं १९७१ अघि सञ्चालनमा आएको भए पनि त्यसपछि भने उत्खनन् हुनसकेको छैन ।
खानी उत्खनन् गरेर तामा निकाल्न सिपालु छन्त्याल जातीले तत्कालीन समयमा तामाखानी उत्खनन् गरेबापत सरकारलाई भेजा (कर) तिर्न नसकेका कारण उक्त खानी राणा शासकको मौखिक आदेशमा बन्द गरिएको स्थानीय बताउँछन् । तत्कालीन राणा सरकारले प्रतिबन्ध लगाएका कारण बन्द भएको सो तामाखानी देशमा सङ्घीय गणतन्त्रात्मक व्यवस्था लागू हुँदासमेत सञ्चालनका लागि पहल नभएको स्थानीयको दुःखेसो छ ।
“राजनीतिक परिवर्तनपछि गाउँमा जनप्रतिनिधि आएपछि खानी सञ्चालनमा आउने आशा गरेका थियौँ तर यतिका वर्ष बितिसक्दा पनि खानी सञ्चालनका विषयमा कसैले चासो राखेका छैनन्”, स्थानीय ७७ वर्षीय गिरबहादुर छन्त्यालले भने ।
ठाडाखानीमा छन्त्याल र विश्वकर्माको समुदायको बसोबास छ । एक सय १० वर्षअघि उनीहरूले तामाखानी उत्खनन् गरी तामासँग अन्न साँट्ने गरेका थिए । यसरी नै स्थानीयवासीले जीवन निर्वाह गर्दै आएका थिए ।
तत्कालीन सरकारले अत्यधिक कर लिन थालेपछि तामाखानी बन्द गरी वैकल्पिक पेसा र वैदेशिक रोजगारीतर्फ लाग्नुपरेको रघुगङ्गा गाउँपालिका–६ का पूर्ववडासदस्य टेकजित छन्त्यालले बताए । उनका अनुसार रुमलेभिरमा पाँच सुरुङ छन् ।
सुरुङको प्रवेशद्वारबाट दुईसय मिटरभित्र छिरेपछि तामाखानी हेर्न सकिन्छ । तामाखानी सञ्चालनमा आउन सके राज्यले वार्षिक लाखौँ आम्दानी गर्न सक्ने तथा स्थानीयवासीले रोजगारी पाउने सम्भावना छ । “यहाँको तामाखानी वर्षौंदेखि बन्द छ,” उनले भने, “तामाखानी सञ्चालनका लागि यहाँका जनताले गाउँपालिका र सम्बन्धित सरोकारवालालाई आग्रह गरिरहेका छन् तर सुनुवाइ भएको छैन ।”
तामाखानी सञ्चालनमा ल्याउन सके वार्षिक करोडौँ आम्दानी हुनुका साथै स्थानीयवासीले दीर्घकालीन रोजगारी पाउने भएकाले खानी सञ्चालनको पहल थाल्न वडा कार्यालयले गाउँपालिकालाई दबाब दिइरहेको रघुगङ्गा गाउँपालिका–६ का अध्यक्ष मनकुमार शेरपुर्जाको भनाइ छ । रासस/file photo