Logo

‘तत्काल एमाले-माओवादी एकता हुँदैन’ : शंकर पोख्रेल



काठमाडौं, १२ जेठ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले एमालेलाई अहिले जनताले आशाको नजरले हेरिरहेका बताएका छन् । एमाले पाल्पा जिल्ला कमिटीको दशौँ अधिवेशन हिजो (शुक्रबार) तानसेनमा उद्घाटन गर्दै महासचिव पोखरेलले मुलुकको ओरालो यात्रालाई रोक्ने प्रयत्नमा एमाले रहेकाले जनतामा आशा जागेको बताएका हुन् ।

मुलुकको नकारात्मक बाटोलाई एमालेले समीकरण बदलेर सही ठाउँमा ल्याउने प्रयत्न गरिरहेको उनले बताए । महासचिव पोखरेलले यस्तो अवस्थामा पनि पुराना दलले केही गर्न सक्दैनन् भन्दै जनतामा निराशा फैलाउने काम भइरहेको बताए ।

सामाजिक अराजकता अस्थिरता आज समाजमा चुनौतीका रूपमा प्रकट भइरहेको उनले बताए। ‘अस्थिरता र समृद्धि साथसाथै अघि बढ्न सक्दैन, मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउने हो भने अस्थिरतालाई पराजित गर्नै पर्दछ’, उनले भने। मुलुक अहिलेकै अवस्थाबाट राजनीतिक स्थायित्व र स्थिरताको बाटोमा अघि बढ्न नसक्ने उनले बताए । यसबाट मुलुकलाई निकास दिने क्षमता एमालेसँग मात्र रहेको उनले प्रष्ट पारे । समाजमा अस्थिरता र अराजकता मच्चाउनेका विरुद्ध एमाले एकजुट भएर उभिनुपर्नेमा महासचिव पोखरेलले जोड दिए ।

ठूला पार्टीका नेता तथा कार्यकर्ता जनतामाझ नीति, कार्यक्रम, विचार र योजना लिएर नजाँदा अराजकतावादीले टाउको उठाउने प्रयास गरिरहेको र अराजकहरूको भिडमा जनता जान लागेकाले प्रमुख राजनीतिक दलले त्यसलाई रोक्नुपर्ने धारणा उनको छ ।

राजनीतिक अस्थिरताको फाइदा उठाउँदै देशको मौलिक तथा सांस्कृतिक आधारमाथि बाह्य पक्षबाट समेत निरन्तर प्रहार भइरहेको हुँदा राष्ट्रियता कमजोर पार्ने खेलबाट सचेत हुन उनले सबैलाई आग्रह गरे । पोखरेलले देश विकासका लागि दूरदर्शी नेतृत्व, बलियो राजनीतिक शक्ति र राजनीतिक स्थिरता आवश्यक रहेको बताए ।

चौतर्फी घेराबन्दीको बेलामा समेत सबै चुनौतीको सामना गर्ने शक्तिको रूपमा एमाले र अध्यक्ष केपी ओली स्थापित भएको महासचिव पोखरेलको भनाई थियो ।

महासचिव पोखरेलले एमाले र माओवादीको सहकार्य निरन्तर रहने तर तत्काल पार्टी एकता भने सम्भव नभएको स्पष्ट पारे । एमालेले विगतको कमजोरीबाट पाठ सिकेको बताउँदै उनले एमाले हतार हतार पुनः पार्टी एकीकरण गर्ने पक्षमा नरहेको उनले स्पष्ट गरे ।

उनले अहिलेको सत्ता समीकरणलाई २०८४ को निर्वाचनसम्म लैजानुपर्छ भन्नेमा एमाले स्पष्ट रहेको सुनाए । उनले भने,‘हामी नयाँ समीकरण मिसन २०८४ सम्म लिएर जान चाहन्छौं ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot