Logo

सञ्चार सचिवद्वारा राससको तस्बिर प्रदर्शनी अवलोकन



काठमाडौँ, १४ जेठ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले गणतन्त्र दिवस–२०८१ का अवसर पारेर राष्ट्रिय समाचार समिति (रासस)ले आयोजना गरेको तस्बिर प्रदर्शनीको आज अवलोकन गरेका छन् ।

‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रर्दशनीको अवलोकनका क्रममा उनले मुलुकमा पूर्वाधारका क्षेत्रमा उल्लेख्य प्रगति हुँदै गइरहेको बताए । उनले मुलुकका सबै भूगोलका विभिन्न विधाका तस्बिर प्रदर्शनीमा राखिनुले सकारात्मक सन्देश दिएको प्रक्रिया दिए । “तस्बिर प्रदर्शनी निकै राम्रो छ”, उनले भने ।

सचिव सुवेदीलाई राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, नायब महाप्रबन्धक सोमनाथ लामिछाने, सञ्चालक समिति सदस्य कृष्ण अधिकारी र प्रधान सम्पादक उत्तम सिल्वाललगायतले प्रदर्शनीमा राखिएका तस्बिरका बारेमा जानकारी गराएका थिए ।

यही जेठ १० गतेदेखि सुरु भएको प्रदर्शनीमा मुलुकका तीनवटै तहका सरकारले आफ्नो सीप, जनशक्ति र पुँजी तथा छिमेकीका साथै अन्य मित्रराष्ट्रसमेतका सहायतामा निर्मित एवं निर्माणाधीन राष्ट्रिय तथा प्रादेशिक गौरवका आयोजनाका तस्बिर समावेश छन् ।

विसं २०७२ को ‘गोरखा भूकम्प’बाट भत्किएका ऐतिहासिक धरोहरकोे पुनःनिर्माणपछिका संरचना, मानवीय विकास, शिक्षा, स्वास्थ्य, उद्योग, सडक, सिँचाइ, खानेपानी, विद्युत् उत्पादनलगायत विषयमा सङ्कलन गरी राससबाट सम्प्रेषित तस्बिर प्रदर्शनीमा राखिएका छन् । सातवटै प्रदेशमा निर्माण भएका भौतिक पूर्वाधारसम्बन्धी ९५ तस्बिर प्रदर्शनीमा समेटिएका छन् । राससले गत वर्ष गणतन्त्र दिवसका अवसरमा ‘हाम्रो संस्कृतिः हाम्रो सम्पदा’ शीर्षकमा तस्बिर प्रदर्शनी गरेको थियो ।

प्रदर्शनीमा ऊर्जा, विमानस्थल, पर्यटन, बाटोघाटो, सडक, पुल, स्वास्थ्य शिक्षाका संरचना, सम्पदा पुनःनिर्माण, तराईका हुलाकी मार्ग, मूलपानी क्रिकेट मैदान, काठमाडौँ–मधेस दू्रतमार्ग, थानकोट–नागढुङ्गा सुरुङमार्ग, सुनकोसी–मरिन डाइभर्सन बहुद्देश्यीय आयोजना, सौर्य प्यानल, टेलिफोनका फोरजी टावर, एकीकृत बस्ती, राष्ट्रिय गौरव, प्रदेश गौरवका आयोजनालगायत तस्बिर समावेश छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot