Logo

अफगानिस्तानमा बाढीका कारण १६ जनाको मृत्यु



काबुल, १४ जेठ । अफगानिस्तानको बाघलान र बदख्सान प्रान्तमा हालै आएको बाढीमा १६ जनाको मृत्यु भएको टोलो न्यूजले जनाएको छ ।

प्रभावित प्रान्तका स्थानीय अधिकारीहरूका अनुसार बाढीमा पाँच सय घरमा पूर्ण वा आंशिक रूपमा क्षति भएको छ । टोलो न्यूजकाअनुसार बाढीले डान्ड–ए–घोरी, दोसी, पुल–ए–खुमरी सहर, मध्य बदख्सानको मोरचक र यी प्रान्तका अन्य भागहरूमा असर पारेको स्थानीय अधिकारीहरूले बताएका छन् ।

बाघलान प्रहरी कमान्डका प्रमुख अब्दुल गफुर खादेमले आइतबार राति ठुलो बाढी आँउदा बाघलान प्रान्तको दोसी जिल्लाको लारखाब क्षेत्रमा व्यापाक क्षति भएको बताएका छन् ।

उनका अनुसार लर्खाबमा तीन बालबालिका एक महिला र दुई पुरुषसहित लगभग पाँच जनाको मृत्यु भएको छ भने ३०० भन्दा बढी घरहरू ध्वस्त भएका छन् ।

तालिबानद्वारा बदख्सानमा प्राकृतिक विपद् व्यवस्थापनका प्रमुख मोहम्मद कामगरलाई उद्धत गर्दे बाढीका कारण एकै परिवारका दश जनासहित एघार व्यक्ति घाइते भएको टोलो न्यूजले जनाएको छ ।

यसैबीच, बाढीका कारण सम्पत्ति गुमाएका धेरै परिवारहरूले सहायताको आगमनमा ढिलाइ भएको भन्दै सरकारको आलोचना गरेका छन् । पिडित परिवारले सरकार र सहायता निकायबाट तत्काल सहयोगको माग गरेका छन् ।

अफगानिस्तानका विभिन्न भागमा गएको हप्तामा आएको विनाशकारी बाढीमा तीन सय भन्दा बढीको मृत्यु भएको छ । बाढीले सयौँ आवासीय घरहरू ध्वस्त पारेको छ र हजारौँ हेक्टर कृषि जग्गामा क्षति पु¥याएको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot