Logo

देउवाको सन्देश बोकेर गगन थापासहित कांग्रेसका आधा दर्जन नेता बालुवाटारमा, होला त आइस-ब्रेक



काठमाडौं, १४ जेठ । नेपाली कांग्रेसका आधा दर्जन नेता बालुवाटार पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालसँग निर्णायक वार्ता गर्न भन्दै कांग्रेस नेताहरु बालुवाटार पुगेका हुन् । त्यसअघि उनीहरु पार्टीका सभापति शेरबहादुर देउवासँग छलफलमा थिए । देउवाको सन्देश बोकेर उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, नेता कृष्ण प्रसाद सिटौला, सहमहामन्त्री जीवन परियार, रमेश लेखक र ज्ञानेन्द्रबहादुर कार्की बालुवाटार छिरेका हुन् ।

उनीहरु सहकारी ठगी प्रकरणमा संसदीय छानबिन बनाउनुपर्ने र समितिको टिओआरमा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्नुपर्ने अडानमा नै छन् । समिति बन्ने विषयमा आजै सहमतिमा पुग्नको लागि प्रधानमन्त्री दाहालले कांग्रेस नेताहरुमाथि दबाब बढाएका छन् । कांग्रेसले भने पदाधिकारी र पूर्व पदाधिकारीको बैठक राखेर समिति बनाउनुपर्ने अडानबाट ब्याक नहुने भन्दै समिति नबनाईए भोलिको बजेटको कार्यक्रमलाई पनि अवरोध गर्ने निर्णय गरेको छ ।

यसअघि सदनको अवरोध खुलाउनको लागि प्रधानमन्त्री दाहाल आँफै सभापति देउवाको निवासमा पुगेका थिए । उक्त भेटवार्तामा देउवा त्यति नखुलेको बताईएको छ । प्रधानमन्त्री दाहालमात्रै एकोहोरो बोलेको र देउवाले नसुनेझैं गरेको कुरा बाहिर आएको छ । देउवा अहिले अस्वस्थ भएपछि घरमै आराम गरेर बसेका छन् ।

सत्तापक्षमा एमाले र रास्वपा भने कांग्रेसको मागप्रति टसमस छैनन् । उनीहरु कांग्रेससँग भिडेरै जाने मुडमा पुगेका छन् । एमाले उपाध्यक्ष विष्णु पौडेलले त कांग्रेसले आफ्नो पार्टी र पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध लगाएका आरोपको लिखित रुपमा खण्डन नगरे राजनीतिक रुपमै प्रतिकार गर्ने चेतावनी दिइसकेका छ्न । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot