Logo

मौलापुरकी मेयरको कामबाट सिक्न काठमाडौंका मेयर बालेनलाई प्रभु साहको सुझाव (भिडिओसहित)



काठमाडौं, १६ जेठ । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले काठमाडौं महानगरका मेयर बालेन साहलाई आफ्नो शैली सच्याउनको लागि सुझाव दिए । प्राइम टिभीको चर्चित कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो सुझाव दिएका हुन् ।

उनले भने,‘बालेनजी त एउटा युवा मान्छे हो । राम्रो काम गर्नुपर्छ । काठमाडौं भनेको यो देशको साझा शहर हो । यो काठमाडौंवासीहरुको मात्रै शहर होईन, देशकै साझा ठाउँ हो । यो ठाउँ राम्रो हुनुपर्छ । नराम्रो हुँदा सबैतिर यसको असर पर्छ । युवा जेनरेसनले यो शहरको नेतृत्व गरिरहनुभएको छ । युवाले नेतृत्व गरेको शहर सफल हुनुपर्छ । युवाले नेतृत्व गर्दापनि फेल खायो भने जनता निराश हुन्छन् । पाका नेता फेल भए जनतामा निराशा हुँदैन् । बालेनप्रति म सद्भाव राख्छु । तर, उहाँको एक्टिभिटिज त्यति उत्साही छैन ।’

उनले मेयर बालेनले कवाड व्यवसायीहरुमाथि गरेको धरपकडको विरोध गरे । उनले कवाड व्यवसायलाई व्यवस्थित् गर्न मेयर बालेनलाई सुझाव दिए । उनले भने,‘काठमाडौंका कवाड व्यवसाय र सुकुम्वासीलाई व्यवस्थित् गर्नुहोस । सुकुम्वासीहरुलाई राम्रो महलमा राख्ने व्यवस्था गर्नुहोस ।’

विकास र व्यवस्थ्ति काम हेर्नको लागि उनले मेयर बालेनलाई आफ्नो गृहजिल्ला रौतहटको मौलापुर नगरपालिमा जानको लागि पनि अनुरोध गरे । उनले भने,‘एकपटक मौलापुरमा जानुहोस । हामीले सुकुम्वासीलाई जग्गा किनेर बस्ती बनाएर छतवाला घर बनाएका छौं । त्यहाँको मेयरले सुकुम्वासीलाई घर बनाएर राम्रो बस्ती दिनुभएको छ । तपाईंले त्यो राम्रो काम सिक्नुपर्दैन् ? शहरमा गरिबी हटाउने हो, गरिवलाई हटाउने होईन । कवाडलाई व्यवस्थित् गर्ने हो । अदालत र कानून मान्दिनँ भन्न पाईन्छ ? अदालतको आदेश र कानूनको शासन नमान्नेले कसरी समृद्ध काठमाडौं बनाउने हो । केही नीति सिती मान्नुछैन् । सम्वाद गर्नुछैन् । कानून मान्नुछैन् । धेरै नेताहरु फेल खाए, युवाहरुले सफल भएर देखाउनुको साटो अराजकता मच्चाउने । अस्तव्यस्त बनाउने, निराशा फैलाउने । द्धन्द्ध पैदा गर्ने अनि मान्छे रुवाउने ?’

उनले काठमाडौं महानगरमा २५ अर्ब बजेट हुँदापनि पुँजीगत खर्च २० प्रतिशत पनि हुन नसक्नु दुःखद् भएको टिप्पणी गरे । उनले भने,‘काठमाडौं असफल हुनुहुन्न । बालेनलाई असफल हुने छुट छैन् । राम्रो भएर अगाडि आउनुहोस । मेरो यही सुझाव छ ।’
पूर्वमन्त्री साहले देशमा अहिले संघीयता नै नरहेको जिकिर गरे । उनले थपे,‘देशमा संघीयता नै छैन् । रावणले साधुको वस्त्र लगाउँदैमा साधु हुँदैन् । संघीयता भनेको प्रदेश पावरफुल हुनुपर्छ । बन्दुक र पैसाले राज्य चल्छ । बन्दुक भनेको प्रहरी र पैसा केन्द्रमा छन् । प्रदेशहरुसँग अधिकार छैन् ।’ साहले तराई÷मधेश उजाड हुनु र पानीको हाहाकारको अवस्थामा पुग्नुमा ठूला दलका ठूला नेताहरुको पनि हात रहेको सुनाए । उनले प्राकृतिक स्रोत र साधनको अधिकार स्थानीय तहलाई दिईनु र नगरपालिकाका टिकट क्रसर व्यवसायीहरुलाई दिईनुले चुरे दोहन भएको आरोप लगाए । उनले आज मधेशका कतिपय नगरपालिकाका मेयरहरु नै क्रसर व्यवसाय सञ्चालनमा व्यस्त रहेको भन्दै गएर हेर्न सुझाव दिए ।

कुराकानीनको क्रममा उनले एमाले अध्यक्ष केपी शर्मा ओली अहिलेका नेताहरुभन्दा राष्ट्रवादी नेता रहेको टिप्पणी गरेका छन् । एमाले अध्यक्ष ओली अरु नेताहरुभन्दा राष्ट्रवादी रहेको भनेर प्रशंसा गरे । उनले काठमाडौं महानगरका मेयर बालेन्द्र साहको परीक्षण हुनै बाँकी रहेको पनि बताए । उनले भने,‘बालेन साहको परीक्षण हुन बाँकी छ । केपी ओली राष्ट्रवादी नेता हो । सापेक्षित रुपमा केपी ओली अरु नेताहरुको तुलनामा राष्ट्रवादी नेता हो ।’



प्रतिक्रिया दिनुहोस्