काठमाडौं, जेठ १९। नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ। निगमकाे सञ्चालक समितिको शुक्रबार बसेको बैठकले आज शनिबारदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजेल/मट्टितेलमा प्रतिलिटर १ रुपैयाँले मूल्य घटाएको हो। इन्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्य प्राप्त भएअनुसार इन्धनको मूल्य घटाइएकाे निगमले जनाएकाे छ।
निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट आज पेट्रोलको मूल्य प्रतिलिटर ४.४२ र डिजेलको मूल्य प्रतिलिटर २.४५ ले घटेर आएको छ। सरकारले बजेटमार्फत पेट्रोलियम पदार्थमा प्रतिलिटर १ रुपैयाँ हरित कर लगाएको छ। साेही अनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ।
मूल्य घटेसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६५.५० रुपैयाँ र डिजेलको मूल्य १५०.५० रुपैयाँ कायम भएको छ।
दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १६७ र डिजेलको मूल्य १५२ रुपैयाँ कायम भएको छ। तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १६८ र डिजेलको मूल्य १५३ रुपैयाँ कायम भएको छ।हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत छ।