Logo

राजसंस्था फर्काउन ओली, देउवा र प्रचण्डले साथ दिनुपर्ने रेखा थापाको भनाई, बाह्य शक्तिले पनि चाहनुपर्ने (भिडिओसहित)



काठमाडौं, २५ जेठ । राप्रपाकी प्रभावशाली नेतृ रेखा थापाले नेपालमा राजसंस्था फर्काउनको लागि बाहृय शक्तिले पनि चाहनुपर्ने बताएकी छिन् । प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा नायिकासमेत रहेकी नेतृ थापाले यस्तो टिप्पणी गरेकी हुन् । पत्रकार धमलाले ‘तपाईं गणतन्त्रवादीबाट राजसंस्थावादी बन्नुभयो, हाम्रो देशमा राजसंस्था फर्कन्छ ?’ भनेर सोधेको प्रश्नमा थापाले यस्तो जवाफ दिएकी हुन् । उनले भनिन्–‘राजसंस्था फर्कन त केपी ओली, शेरबहादुर देउवा र प्रचण्डले साथ दिनुपर्ला । र, नेपाली जनताले साथ दिनुपर्ला नि ।’

नेपाली जनता त अहिले राजसंस्था फर्काउनको लागि तयार छैनन् नि भनेर पत्रकार धमलाले राखेको अर्को प्रश्नमा उनले नेपाली जनताले चाहेको खण्डमा राजसंस्था पूनःस्थापना हुनसक्ने दाबी गरिन् । उनले अघि भनिन्–‘उहाँहरुले चाहेको खण्डमा र अन्य शक्तिहरुले चाहेको खण्डमा, बाहृय शक्तिहरुले चाहेको खण्डमा ।’

पत्रकार धमलाले अन्य र बाहृय शक्ति भनेको को हो भारत हो ? भनेर प्रश्न तेर्साए । जवाफमा नेतृ थापाले बाहृय शक्ति भनिन् र बाहृय शक्ति भनेको को हो भन्ने कुरा स्वयम धमलालाई पनि थाहा भएको भन्दै नाम लिन भने पन्छिन् । उनले भाजपाका नेता तथा निवर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी आफूलाई राम्रो लाग्ने बताईन् । मोदी बास्तवमै राम्रो नेता भएको उनको तर्क छ । उनले भनिन्,‘उहाँ त आध्यात्मिक नेता हो ।’ उनले नेपालमा भने आफूलाई प्रदीप गिरि मनपर्ने नेता भएको उल्लेख गरिन् ।



प्रतिक्रिया दिनुहोस्