काठमाडौं, जेठ २८ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेगर स्पिनर सन्दीप लामिछाने जारी आईसीसी पुरुष टी–२० विश्वकप खेल्न वेस्ट इन्डिज पुगेका छन् ।
नेपाल क्रिकेट संघका सचिव पारस खड्काद्वारा सार्वजनिक विज्ञप्तिमा लामिछाने वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका तथा बंगलादेश विरुद्ध नेपालका दुई खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुने जानकारी गराइएको छ। क्रिकेट संघले पूर्व घोषित टिमबाट युवा बलर प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राख्ने निर्णय गर्दै सन्दीप लामिछानेलाई विश्वकप खेल्ने आधिकारिक १५ जना टोलीको अन्तिम नामावली आईसीसी सामु पेश गरेको विज्ञप्तिमा उल्लेख छ ।
सन्दीप लामिछाने गत मे १६ तारिखदेखि नै नेपालको अफिसियल स्क्वाडमा रहेका तर उनको अमेरिकी भिसा प्राप्त नभएता पनि आईसीसीसँग समन्वय गरी वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका तथा बंगलादेश विरुद्ध नेपालका दुई खेलमा उनको उपस्थिति रहने क्रिकेट संघले जनाएको छ । साथै, सन्दीप लामिछानेको भिसासँग सम्बन्धित क्यान प्रति लक्षित नकारात्मक वक्तव्यबाजी सत्य नरहेको समेत संघले दाबी गरेको छ ।
पटक–पटकको प्रसायसपछि पनि अमेरिकाले भिसा नदिएपछि क्रिकेटर सन्दीप लामिछाने विश्वकप खेल्न जान पाएका थिएनन् । अमेरिका र वेस्ट इन्डिज आयोजक रहेको टी-२० विश्वकप जेठ २० गतेदेखि सुरु भएको थियो ।
नेपालले विश्वकपको समूह चरणमा चारवटा म्याच खेल्दै छ । जसमा दुईवटा अमेरिका र बाँकी दुईवटा वेस्ट इन्डिजमा खेलिनेछन् । यसअघि जेठ २३ गते भएको पहिलो खेलमा नेपाल नेदरल्यान्डसँग पराजित भएको छ । अमेरिकाको डालसमा भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएको हो। प्रतियोगितामा नेपालले १२ जुनमा श्रीलंका, १५ जुनमा दक्षिण अफ्रिका तथा १७ जुनमा बंगलादेशको सामना गर्नेछ ।