जलेश्वर (महोत्तरी), २ असार । महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिकामा बर्थिङ सेन्टर सञ्चालनमा आएपछि यहाँका महिला खुसी भएका छन् ।
वर्षौंदेखि प्रसूति सेवा लिन महिला छ किमी टाढा रहेको जिल्ला सदरमुकाम जलेश्वर तथा १८ किमी टाढा रहेको जनकपुर जाने गरेकामा स्थानीयस्तरमा बर्थिङ सेन्टर सञ्चालनमा आएपछि सहज भएको हो ।
शनिबार महोत्तरी–३ स्थित डाम्हीमडै स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालनमा आएको हो । आफ्नै गाउँठाउँमा प्रसूति सेवा पाउनुपर्ने स्थानीय महिलाको वर्र्षौंको माग सम्बोधन भएको गाउँपालिकाका अध्यक्ष दिलीपकुमार पाण्डेले बताए ।
यहाँ आयोजित कार्यक्रममा बर्थिङ सेन्टर उद्घाटन गर्दै उनले प्रसूति सेवा लिन अब मधेस प्रदेशको राजधानी जनकपुर वा अन्यन्त्र जाने बाध्यता अन्त्य भएको जानकारी दिए । अध्यक्ष पाण्डेले असार १ गतेदेखि असार मसान्तसम्म यस बर्थिङ सेन्टरमा जन्मिने शिशुलाई प्रतिशिशु पाँच हजार एक सयका दरले उपहार दिने घोषणा गरे ।
उक्त बर्थिङ सेन्टरमा गर्भवतीका लागि नियमित गर्भजाँच, सुत्केरी जाँच तथा प्रसूति सेवा उपलब्ध गराइएको छ । बर्थिङ सेन्टर सञ्चालनमा आएसँगै गर्भजाँचसम्बन्धी सामान्य सुविधाबाट वञ्चित रहेका यहाँका स्थानीय महिलाले नियमित गर्भजाँचसम्बन्धी सम्पूर्ण सेवा पाउने अध्यक्षको पाण्डेको भनाइ छ । रासस