Logo

पत्रकारितामा कक्षाकोठा र समाचार कक्षलाई जोड्ने विषयमा राससमा विमर्श



काठमाडौँ, १९ असार । ‘पढेर होइन परेर जानिन्छ’ भन्ने उखान नै छ । पत्रकारिता पढेर मात्र होइन अभ्यास गरेर सिकिने क्षेत्र हो । सूचना प्रविधिको विकाससँगै आमसञ्चार क्षेत्रमा पनि त्यसको प्रभाव परेको छ भने नयाँ आयाम विकास हुँदै गएका छन् ।

सामाजिक सञ्जालको व्यापकताले नागरिक पत्रकारिताको अभ्यास पनि प्रारम्भ भएको छ । परम्परागत पत्रकारिताका यी चुनौतीका बीच विभिन्न विश्वविद्यालय र अध्ययन प्रतिष्ठानमा पत्रकारिता तथा आमसञ्चार अध्ययन गर्ने विद्यार्थी र मूल प्रवाहका सञ्चारमाध्यमबीच कसरी अन्तरसम्बन्ध स्थापना गर्ने बहस पनि हुँदै आएका छन् ।

मुलुकको एकमात्र र आधिकारिक समाचार समितिका रूपमा २०१८ सालदेखि अविछिन्न समाचार सङ्कलन सम्प्रेषण गर्दै आएको राष्ट्रिय समाचार समिति (रासस)को केन्द्रीय कार्यालयमा आज यस्तै सवालमा राससका व्यवस्थापक, अग्रज राससकर्मी, पत्रकारिताका शिक्षक र विद्यार्थीबीच विमर्श भएको छ ।

राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, त्रिभुवन विश्वविद्यालय, पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख डा कुन्दन अर्याल, उपप्राध्यापकहरु डा देवराज अर्याल, शशी मरासिनीसहित स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थी र राससकर्मीलाई छलफलमा ल्याउने सेतुको माध्यम गणतन्त्र दिवसका अवसरमा राससद्वारा आयोजित ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रदर्शनीले गरेको थियो ।

राससले कसरी नियमित रूपमा समाचार र समाचारमूलक अन्य सामग्री सङ्कलन–सम्प्रेषण गर्दै आएको छ, यसले पत्रकारिताका विद्यार्थीलाई कसरी प्रोत्साहन गर्न सक्छ भन्नेमा चासो व्यक्त गरेका थिए । जिज्ञासु प्रशिक्षार्थीका प्रश्नको जवाफ रासस व्यवस्थापनका तर्फबाट समाचारकक्ष र पत्रकारिताका कक्षालाई जोड्न सकिएमात्रै पत्रकारितामा व्यावसायिकता प्रदर्शित हुने स्पष्ट गरिएको थियो ।

छलफलमा समाचारका विषयवस्तुको उठान, राजनीतिक प्रभाव र हस्तक्षेप, विकास पत्रकारिता, नवीन प्रविधिको प्रयोग र सामाजिक सञ्जालका चुनौती एवं अवसरका विषयमा चिन्तनमनन भएको थियो । त्यस क्रममा राससका कार्यकारी अध्यक्ष झाले समाचार समितिका रूपमा राससले निर्वाह गर्दै आएको भूमिकाबारे जानकारी दिँदै नेपाली पत्रकारितामा शिक्षित जनशक्तिको आवश्यकता रहेको औँल्याए ।

राससका महाप्रबन्धक सिद्धराज राईले राससमा पत्रकार भएर काम गर्ने पर्याप्त अवसर भएको र जिम्मेवारी पाउनेहरूले त्यसको सदुपयोग गर्न सक्नुपर्नेमा जोड दिए ।

राससका प्रमुख समाचारदाता एकराज पाठकले पछिल्लो समय शैलीगत रूपमा पनि पत्रकारिताका फरक आयामलाई समेट्दै अघि बढ्नुको विकल्प नभएको बताए ।

पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख डा अर्यालले तस्बिर प्रदर्शनीको अवलोकनपछि राससलाई प्रतिक्रिया दिँदै जनसहभागितामूलक विकास–निर्माणमा पत्रकारिताको भूमिका राससले तस्बिर प्रदर्शनीले उजागर गरेको बताए । उनले विकासको वास्तविक अवस्थाबारे जनतालाई जानकारी दिन र त्यसमा जनसहभागिता बढाउन पत्रकारिताका सबै आयामको अभ्यास अनिवार्य भएकामा जोड दिए । विद्यालय निर्माणदेखि भूकम्पपछिको पुनःनिर्माणसम्मका विकासका गतिविधिको झलक फोटो प्रदर्शनीले दिएको उनको भनाइ थियो ।

“सबै तस्बिर हेर्दा गणतन्त्रपछि पूर्वाधार निर्माण, विकासको प्रयासहरू बोध गर्न सकिन्छ । फोटो प्रदर्शनी एउटा आयाम हो । फोटोसँगसँगै विकास निर्माणबारे पत्रकारले लेख्ने, बोल्ने र खिच्ने सबै आयामलाई जोड दिनुपर्छ”, उनले भने, “गणतन्त्रमा सहभागितामूलक विकास हुन्छ ।”

यसैगरी, विद्यार्थीहरूले प्रदर्शनीमा समेटिएका तस्बिरले आम जनतालाई समृद्धिको अवस्थाबारे जानकारी दिने प्रतिक्रिया दिए । पत्रकारिताका विद्यार्थी बाबुराम आर्चायले सकारात्मक सोचको विकास गर्न प्रदर्शनीले सकारात्मक सन्देश प्रवाह गरेको बताए ।

अर्का विद्यार्थी अनिश मिजारले विकास पत्रकारिताको महत्व प्रदर्शनीमा प्रतिविम्बित भएको बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot