Logo

काभ्रेमा विपद्प्रतिकार्यका लागि जनशक्ति तयार



काभ्रेपलाञ्चोक, २० असार । मनसुनका बेला जिल्लामा प्राकृतिक प्रकोप तथा हुनसक्ने विपद््जन्य घटना–अवस्थाको व्यवस्थापन गर्न जिल्लास्थित स्थानीय तह तथा सुरक्षाकर्मीद्वारा आपत्कालीन–विपद् प्रतिकार्यको तयारी थालेका छन् । बुधबारसम्म तीन दिन तालिम दिएर रोशी गाउँपालिकाले विपद्् प्रतिकार्य गर्न ५२ जना जनशक्ति तयार गरेको छ ।

रोशीका सबै वडाका ५२ लाई तीन दिनसम्म तालिम दिएर विपद् प्रतिकार्यको लागि जनशक्ति तयार गरेको गाउँपालिकाले जनाएको हो । उनीहरुलाई भकुण्डेबेँसीस्थित नेपाली सेनाको भद्रदल गणका सहसेनानी समिर अधिकारी, इलाका प्रहरी कार्यालय मङ्गलटारका प्रमुख प्रहरी निरीक्षक कृष्ण गिरीलगायत सुरक्षाकर्मीले प्राविधिक तालिम दिनुभएको थियो ।

तयार गरिएका ती जनशक्तिले गाउँपालिका र आसपासका क्षेत्रमा हुनसक्ने विपद््का घटनामा परिचालित हुने अध्यक्ष दिनेश लामाले बताउनुभयो ।

उहाँका अनुसार विपद् व्यवस्थापनको काम सुरक्षा निकायको मात्र जिम्मेवारी नभई समुदायको सहभागिता बढाउन तालिम सञ्चालन गरिएको हो । गणका गणपति नाइजेल सुब्बाले विपद््मा ‘फस्ट रेस्पोन्डर’ मानिएको समुदायलाई विपद् पूर्वविपद््र विपद््पश्चात् खेल्नुपर्ने भूमिकाबारे तालिम दिइएको बताउनुभयो । उहाँले पूर्वतयारीस्वरुप स्रोत, साधन व्यवस्थापनमा जोड दिनु आग्रह गर्नुभयो ।

यस्तै जिल्लास्थित नेपाली सेनाको कालीजङ्ग गण धुलिखेलले सामुदायिक विपद्् प्रतिकार्यका लागि जिल्लाको १० स्थानीय तहमा ८० सामुदायिक विपद्् प्रतिकार्य तालिम दिई विपद्् प्रतिकार्य जनशक्ति तयार पारेको छ । तालिममा ‘विपद्को परिचय र विपद् व्यवस्थापन चक्र, विपद्् प्रतिकार्यको लागि आवश्यक सामग्री, सीप तथा कला, बाढीपहिरो, डुबान, आगलागीजस्ता विपद््का घटनाको दौरान उद्धार गर्ने तरिका, प्राथमिक उपचार, स्थानीय स्रोत–साधनको प्रयोग गरी विपद्् प्रतिकार्य गर्ने विधि र विपद््को समयमा आधुनिक उपकरणको प्रयोगका बारेमा जानकारी गराइएको गणका गणपति प्रमुख सेनानी प्रकाशबहादुर सिंहले जानकारी दिनुभयो ।

जिल्लाका अधिकांश भू–भाग पहाडी क्षेत्र, जिल्ला भएर बग्ने तीन ठूला नदी विपद््को हिसावले जोखिमयुक्त मान्दै आएको छ । विपद्का घटनामा तत्काल उद्धारकर्मी पुग्न सम्भव नहुँदा कयौँ मानिसको ज्यान सक्ने सम्भावनालाई न्यूनीकरण गर्न स्थानीयद्वारा नै प्रतिकार्य गर्नसक्ने क्षमताको विकास गर्न तालिम दिइएको सेनानी सिंहले बताउनुभयो ।

यसैबीच पाँचखालमा रहेको सशस्त्र प्रहरी बल नेपाल नं १५ गण हेडक्वाटरले विपद्् प्रतिकार्यको लागि धुलिखेल र पनौतीस्थित आइटीपार्कमा ‘अस्थायी बेस’ बेस राखेको छ । धुलिखेल र सूचना उद्यानमा निर्माणाधीन सुरक्षण मुद्रण प्रेस भवनमा बसेको टोलीले जिल्लाको मुख्य सहर बनेपा, पनौती, धुलिखेल, नमोबुद्धलगायत आसपासका स्थानीय तहमा हुने मनसुन–विपद्मा उद्धार गर्ने जनाइएको छ । उद्धार सामग्रीसहित सशस्त्र प्रहरी निरीक्षककको नेतृत्वमा २५÷२५ सशस्त्र प्रहरी टोलीलाई उद्धारमा खटिन तयारी अवस्थामा राखिएको हो ।

गृह मन्त्रालयको निर्णयअनुसार पाँचखालमा रहेको हेडक्वाटरबाट रेखदेख तथा सञ्चालन हुने गरी उद्धारमा खटिनुपर्दाको अवस्थामा सडक र दूरीका हिसाबले पायक पर्ने स्थानमा छनोट गरी दुई स्थानमा अस्थायी बेस राखिएको जिल्लास्थित विपद् व्यवस्थापन समितिले जनायो । यसअघि काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकका सशस्त्र प्रहरीद्वारा सुनकोशी नदीमा उद्धारको पूर्वाभ्यास गरेका थिए । संयुक्त पूर्वाभ्यासमा सशस्त्र प्रहरी अधिकृत तथा जवानद्वारा बाढीमा बगेको, डुबेको, पहिरोमा फसेको तथा बाढीमै फसेका व्यक्तिलाई उद्धार गरिएको थियो । साथै, प्रहरी आफैँ उद्धारका क्रममा बाढीमा फसेको र आफैँ जोगिन सफल भएकोसमेत प्रदर्शन गरिएको थियो ।

समितिले मनसुन तथा विपद््बाट प्रभावित हुनसक्ने स्थान पहिचान गरी सङ्कट अवस्थामा रहेका समुदाय एवं बस्तीको पहिचान तथा र जोखिम न्यूनीकरणका उपाय अवलम्बन गर्ने, विपद्् प्रतिकार्यका लागि अवश्यक पर्ने सामग्रीको सम्बन्धित सबै निकायले तयारी अवस्थामा राख्ने, एम्बुलेन्स, दमकल अन्तर स्थानीय तह समन्वय गरी परिचालन गर्नेलगायतको निर्णय गरेको छ ।

यसैगरी विपद््को समयमा तत्काल सेवा दिनसक्ने गरी स्वास्थ्य संस्था, औषधि र जनशक्तिलाई तयारी अवस्थामा राख्ने, विकासका आयोजना सञ्चालन गर्दा र निर्माण सामग्री उत्पादन गर्दा विपद्् जोखिम न्यूनीकरणका उपाय अवलम्बन गरी मापदण्डको पूर्णपालना गर्नुपर्ने पनि निर्णय भएका समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी सूर्य सेढाइँले बताउनुभयो ।

उहाँका अनुसार यस वर्षको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना–२०८१ तर्जुमाको लागि राष्ट्रिय विपद्् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएअनुसार जिल्लाका स्थानीय तहसँग मागिएको मनसुनजन्य विपद््को प्रकृतिगत रुपमा सम्भावित स्थान र जोखिमको पूर्वानुमान विवरण आउन थालेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot