Logo

तिलाको रारामा ‘स्टिल ट्रस’ निर्माण अन्तिम चरणमा



जुम्ला, २० असार । यहाँको तिला गाउँपालिका–१ स्थित रारामा तिला नदीमाथि निर्माणाधीन मोटरेबल ‘स्टिल ट्रस’को काम अन्तिम चरणमा पुगेको छ । पुल निर्माण नहुँदा सो गाउँपालिका–६, ७, ८ र ९ सडक सञ्जालमा जोडिएका थिएनन् ।

पुल निर्माणपछि सो वडाहरू सवारीसाधनको पहुँचमा पुग्ने भएका छन् । वडासम्म ग्रामीण सडक निर्माण भइसकेका छन् । अब पुल सञ्चालनमा आएसँगै गाउँसम्म यतायातका साधन पुगेपछि यहाँका स्थानीयवासीलाई राहत हुने तिला गाउँपालिका–८ का वडाध्यक्ष आसे बस्नेतले जानकारी दिए ।

पुल निर्माणको करिब ९० प्रतिशत काम सम्पन्न भइसकेको छ । पुलमाथि ढलान हुन बाँकी छ । अबको छ महिनाभित्र स्टिल ट्रस पुल निर्माण सम्पन्न भई सञ्चालनमा आउने ठेक्का लिएको निर्माण कम्पनी हीराचन्द अञ्जना खड्का जेभी जुम्लाका प्रबन्धक सुनम खड्काले जानकारी दिए ।

विसं २०७८ मा जुम्ला सडक डिभिजन कार्यालयसँग ठेक्का सम्झौता भएको पुल निर्माण अवधि तीन वर्ष रहेको थियो । तोकिएको समयमा पुल निर्माण गर्नेगरी काम भइरहेको निर्माण कम्पनीले जनाएको छ ।

सङ्घीय सरकारअन्तर्गतको सडक विभागको १४ करोड बजेटको लागतमा पुल निर्माण हुन लागेको सडक डिभिजन कार्यालयका सूचना अधिकारी चित्र चौलागाईंले बताए । पुल आठ मिटर चौडाइ र ५५ मिटर लम्बाइको छ । पुल चाँडै सञ्चालनमा आउनेगरी निर्माण कम्पनीले काम गरिएको छ । कार्यालयको कार्यक्षेत्रभित्र पर्ने सबै विकासे योजनालाई तीव्रगतिमा अनुगमन तथा मूल्याङ्कन गरिएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

तिला नदीमा निर्माणाधीन पुल सञ्चालनमा आएपछि यहाँका स्थानीयवासी, ससाना विद्यार्थी, बिरामीलगायतलाई ओहोरदोहोरमा सहज हुने तिला गाउँपालिकाका अध्यक्ष मोतिलाल रोकायले बताए । गाउँपालिका र बजार आउन करिब पाँचदेखि सात घण्टा बढी समय खर्चनुपर्ने अवस्था छ । अब पुल निर्माणसँगै सवारीसाधन सञ्चालनमा आएपछि स्थानीयवासीलाई राहत हुने तिला–९ का स्थानीयवासी समिर रावतले बताए । गाउँपालिका ती वडा भौगेलिक रूपमा विकट मानिन्छन् । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot