Logo

सबै नागरिकलाई स्वच्छ खानेपानीको पहुँच सुनिश्चित् गर्नु मेरो मुख्य प्राथमिकता हो : मन्त्री यादव



काठमाडौं, १ साउन । खानेपानीमन्त्री प्रदीप यादवले आज मन्त्रालयमातहत निकायको सम्बन्धमा जानकारी लिएका छन् । सिंहदबारस्थित् मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री यादवले मातहत निकायका निकायले गर्ने गतिविधि, हाल सञ्चालनमा रहेका कार्यक्रमहरू, कामहरूको प्रगति र आगामी कार्ययोजनाबारे जानकारी लिएको उनको सचिवालयले स्पष्ट पारेको छ ।

मन्त्री यादवले सबै नेपाली नागरिकलाई सुरक्षित र स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गर्नु आफ्नो मुख्य प्राथमिकता भएको बताएका छन् । उनले आधुनिक प्रविधिको प्रयोगद्वारा खानेपानी वितरण प्रणाली सुधार्ने र मन्त्रालयका कामकारबाहीलाई पारदर्शी तथा उत्तरदायी बनाउन आफू प्रतिबद्ध रहेको बताएका हुन् ।

मन्त्री यादवले मन्त्रालय मातहत निकायलाई दीर्घकालीन र दिगो खानेपानी योजनाहरू विकास गर्न र कार्यान्वयनमा विशेष ध्यान दिन निर्देशन दिएका छन् । त्यस्तै उनले प्रविधिको नवीनतम प्रयोगद्वारा खानेपानी वितरण प्रणालीलाई थप प्रभावकारी बनाउन आग्रह गरे ।

मन्त्री यादवले सुरक्षित खानेपानीको महत्त्वबारे जनचेतना जगाउने विभिन्न कार्यक्रमहरू सञ्चालन गर्न पनि निर्देशन दिए । त्यसैगरी ग्रामीण तथा दुर्गम स्थानहरूमा विशेष प्राथमिकता दिने गरी कार्ययोजना बनाउन निर्देशन दिए । उनले अनुगमन र मूल्यांकन प्रणालीलाई बलियो बनाउँदै कार्यहरूको प्रभावकारिता मापन गर्ने प्रणालीको विकास गर्न पनि निर्देशन दिए ।



प्रतिक्रिया दिनुहोस्