Logo

प्रधानमन्त्री ओलीद्वारा परराष्ट्र मन्त्रालय बाईपास, परराष्ट्रका प्रतिनिधि नराखी तीन राजदूतसँग भेट



काठमाडौं, २ साउन । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेससँगको सहकार्यमा आफ्नो तेस्रो प्रधानमन्त्री कार्यकाल सुरु गरेका छन् । अहिले उनी बधाई तथा शुभकामना गर्नमा व्यस्त छन् । प्रधानमन्त्रीको पद तथा गोपनियताको शपथग्रहण गरेकै दिन सिंहदरबारमा पहिलो क्याविनेट बसेको थियो । उक्त बैठकले केही महत्वपूर्ण लिएको थियो । त्यसपछि प्रधानमन्त्री ओलीको दिनाचार्य प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नै व्यतित भैरहेको छ ।

प्रधानमन्त्री ओलीलाई नेपालस्थित् विभिन्न देशका राजदूत र नियोग प्रमुखहरुले पनि भेटवार्ता गरेका छन् । उनीहरुले प्रधानमन्त्रीमा नियुक्त भएकोमा बधाई तथा शुभकामना दिएका तस्विर सार्वजनिक भएका छन् । प्रधानमन्त्री ओलीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, चिनियाँ राजदूत छन् सङ र अमेरिकी राजदूत डिन आर. थम्प्सनले शिष्टाचार भेटवार्ता गरेका छन् ।

तर, रोचक कुरा त के भने विदेशी राजदूतहरुसँगको भेटमा प्रधानमन्त्री ओलीले परराष्ट्र मन्त्रालयका कोही पनि प्रतिनिधि राखेका छैनन् । जबकी प्रधानमन्त्री या मन्त्रीहरुले विदेशी पाहुना तथा नेपालस्थित् नियोग प्रमुखहरुसँगको भेटमा परराष्ट्र मन्त्रालयका प्रतिनिधि राख्ने प्रचलन छ । त्यो प्रचलन प्रधानमन्त्री ओलीले तोडेको चर्चा परराष्ट्र मन्त्रालयमा सुरु भैसकेको छ । मन्त्रालयका कतिपय कर्मचारीहरुले भने प्रधानमन्त्री ओलीले परराष्ट्र मन्त्री डा. आरजु राणालाई नै नपत्याएको हो कि ? भनेरसमेत गाईंगुईं गर्न थालेका छन् ।

आज (बुधबार) विहानमात्रै अमेरिकी राजदूत थम्प्सनले प्रधानमन्त्री ओलीसँग बालुवाटारमा पुगेर शिष्टाचार भेट गरेका छन् । त्यो भेटबारे सार्वजनिक तस्विरमा पनि परराष्ट्रको प्रतिनिधि राखिएको देखिँदैन् । मन्त्रालयका कर्मचारीहरुले भने यसअघिका प्रधानमन्त्री पुष्पकमल दाहालले भने राजदूतहरु र विदेशी पाहुनाहरुसँगको भेटमा परराष्ट्रका प्रतिनिधि अनिवार्य रुपमा समावेश गराउने गरेको दाबी गरेका छन् । दाहालले परराष्ट्रका सहसचिवस्तरका कर्मचारी राख्ने गरेको ती कर्मचारीको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्