Logo

उद्योगको लाईन पनि जोड्ने र बाँकी बक्यौतापनि उठाउनेगरि मध्यमार्गी उपायको खोजीमा उर्जामन्त्री खड्का



काठमाडौं, ५ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ विद्युत् भुक्तानी विवाद तत्काल समाधान गर्नेगरि सक्रियता बढाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले नै आफू र नेपाल विद्युत प्राधिकरणका एमडी कुलमान घिसिङलाई निर्देशन दिएर उद्योगीको समस्या समाधान गर्न भनेकोले मन्त्री खड्काको सक्रियता बढेको छ। उनी आजपनि छलफलमै व्यस्त थिए ।

कुलमान र प्रधानमन्त्री ओलीबीच विवाद सतहमा आएको छ । कुलमानले प्रधानमन्त्री ओलीको निर्देशन अवज्ञा गरेको चर्चा सुरु भएको छ । तर, कुलमानले भने ठूलो मात्रामा बाँकी बक्यैता उठाउन बाँकी भएकोले त्यसको लागि मन्त्रालयबाट नै लिखित निर्देशन जारी हुनुपर्ने अडान लिएका छन् । उता, मन्त्री खड्काले भने बाँकी बक्यौतापनि उठाउने र विद्यतु अवरोधपनि हटाउनेगरि पहल लिएका छन् ।

उनले उद्योगको लाईनपनि अवरुद्ध नगर्ने र उद्योगबाट बाँकी बक्यैतापनि उठाउने विषयमा केन्द्रित रहेर आज सरोकारवाला निकायका प्रमुखहरुसँग छलफल गरेको उनको सचिवालयले जनाएको छ। प्राधिकरणले भने निजी उद्योगले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ वापतको शुल्क नतिरेको भन्दै उद्योगमा बिजुली काट्ने कामलाई आजपनि निरन्तरता दिएको छ । भोलि विहानसम्म विवाद समाधान गर्नेगरि आजको छलफल समापन भएको बुझिएको छ ।

मन्त्री खड्काको सचिवालयले जनाएअनुसार मन्त्री खड्काले छलफलमा भनेका थिए,‘विद्युत् भुक्तानी विवादलाई व्यावहारिक ढंगले टुंगोमा पु¥याउन समाधानको उपायसहित अगाडि बढ्नुपर्छ। यसका लागि दुवै पक्षले गम्भीरतापूर्वक छलफल गरी भोलीसम्ममा निष्कर्षमा पुग्नुस्, यसमा मन्त्रालयको तहबाट गर्नुपर्ने सहयोगका लागि हामी तयार छौँ।’



प्रतिक्रिया दिनुहोस्