Logo

आज मौद्रिक नीति सार्वजनिक हुँदै, बोर्ड बैठक बस्दै



राष्ट्र बैंकले आज चालु आर्थिक वर्ष २०८१/८२ का लागि मौद्रिक नीति सार्वजनिक गर्दै छ । आज दिउँसो मौद्रिक नीति सार्वजनिक गर्ने तयारी अनुसार अहिले केही बेरमा नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बैठक बस्दै छ ।

सार्वजनिक हुन लागेको मौद्रिक नीति विशेषगरी उद्योगी एवम् व्यवसायीहरूले चासोका साथ हेरिरहेका छन् । यसअघि गत शुक्रबार नै सार्वजनिक गर्ने तयारी गरिए पनि अन्तिम समयमा आएर स्थगित गरिएको थियो । अघिल्लो वर्ष मौद्रिक नीति साउन ७ गते सार्वजनिक गरिएको थियो ।

यसअघि कांग्रेस–एमालेको समीकरणपछि बनेको नयाँ सरकारले मौद्रिक नीतिका सवालमा केही अध्ययन गर्न बाँकी रहेको भन्दै नीति सार्वजनिक गर्ने कार्यक्रम स्थगित गरिएको थियो ।

अर्थतन्त्र दबाबमा रहेका कारण यस पटकको मौद्रिक नीति कस्तो आउला भनेर सबैतिरबाट हेरिरहेका छन् । सेयर बजारका लगानीकर्ता मौद्रिक नीति कुरेर बसेका छन् भने निजी क्षेत्रदेखि सबै सरोकारवालाले मौद्रिक नीतिलाई चासोका साथ हेरिरहेका छन् ।

समष्टिगत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुर्याउन देशको केन्द्रीय बैङ्कले तर्जुमा गर्ने नीति नै मौद्रिक नीति हो । मौद्रिक नीतिले मुद्रा प्रदाय, कर्जा र ब्याजदरको व्यवस्थापनमार्फत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक वृद्धि तथा रोजगारी सिर्जनामा सहयोग पुर्याउने उद्देश्य राखेको हुन्छ ।

सामान्य रूपमा व्याख्या गर्नुपर्दा मौद्रिक नीतिले मुद्राको मूल्य निर्धारण गर्छ । त्यसले गर्दा राष्ट्र बैङ्कले सार्वजनिक गर्ने मौद्रिक नीतिले प्रत्यक्ष रूपमा सर्वसाधारण उपभोक्ता, उत्पादक वा कर्मचारी सबैलाई प्रभाव पार्छ ।

पुँजीलाई महँगो बनाउने कि सस्तो, राष्ट्रिय मुद्रालाई अन्तर्राष्ट्रिय मुद्राको तुलनामा बलियो बनाउने कि कमजोर जस्ता कुरा मौद्रिक नीतिमा निर्भर हुन्छ । राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले लचिलो मौद्रिक नीति ल्याउने सङ्केत गर्नुभएको छ भने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पनि अहिलेको अभावलाई सम्बोधन गर्ने गरी मौद्रिक नीति आउने बताउँदै आउनुभएको छ ।



प्रतिक्रिया दिनुहोस्