पाल्पा, साउन २३ । अविरल वर्षाका कारण सडकमा ढुङ्गा खसेपछि तानसेन–रिडी–तम्घास सडक खण्ड अवरुद्ध भएको छ । मंगलबार दिउँसो रिब्दीकोट गाउँपालिका२ जोर्ते नजिकै दुईवटा ठुला ढुङ्गा खसेपछि सवारी आवागमन बन्द भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख कृष्णप्रसाद आचार्यका अनुसार पहिरो पन्छाउन सडक डिभिजन कार्यालय र प्रहरी सो स्थानमा गएपनि काम अघि बढ्न नसक्दा सडक पूर्ण रूपमा बन्द भएको हो ।
सोमबार दिउँसो पनि ढुङ्गा खसेर केहिबेर अवरुद्ध भएको सडक एकतर्फी रूपमा खुलाइएको थियो । सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी दुर्गा गौतमका अनुसार मंगलबार लोडरमार्फत ढुङ्गा फुटाउन नसकेपछि सवारी संचालन गर्न नसकिएको हो ।
बुटवलबाट ब्रेकर मगाएर मात्रै ढुङ्गा फुटाउनु पर्ने हुँदा आज बिहानैदेखि काम गरेर १० बजेसम्म सडक सुचारू गर्ने गरि काम अघि बढाइने सडक डिभिजन पाल्पाले जनाएको छ । मंगलबार दिउँसोदेखि नै सवारी आवागमन बन्द हुँदा यात्रुहरू बीच बाटोमा अलपत्र परेका छन् ।