Logo

बुर्किना फासोनजिकै भएको आक्रमणमा ३९ जनाको मृत्यु



नियामी, नाइजर, ३० मङ्सिर । बुर्किना फासोको सीमा नजिकै पश्चिमी नाइजरमा हालैका दिनमा भएका दुई आक्रमणमा परी ३९ जनाको मृत्यु भएको नियामीको रक्षा मन्त्रालयले शनिबार जनाएको छ ।

’लिबिरी र कोकोरोउ समुदायमा दुई भयानक आक्रमण भएका छन् । रक्षा र सुरक्षा बलहरूको निरन्तर अपरेसनबाट घेरिएका अपराधीहरूले रक्षाविहीन नागरिकहरूमाथि आक्रमण गर्दा ३९ जनाको मृत्यु भएको छ,” रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

“बर्बर आक्रमणमा लिबिरीमा २१ जना र कोकोरोउका बालबालिकासहित १८ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । उक्त सशस्त्र आक्रमणमा डिसेम्बर १२ देखि १४ सम्म चलेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

हालैका दिनहरूमा विशेष गरी रक्तपातपूर्ण जिहादी आक्रमणहरूको शिकार भएका यी समुदायहरू तेरा सीमा क्षेत्रमा अवस्थित छन् । यस क्षेत्रलाई सशस्त्र जिहादी लडाकू समूहको आश्रयस्थल मानिन्छ ।

नाइजर, माली र बुर्किना फासोबीचको सीमावर्ती भूमि लामो समयदेखि इस्लामिक स्टेट समूह र अलकायदासँग सम्बन्धित जिहादीहरूका लागि लुकेर बस्ने स्थानका रूपमा परिचित छ ।

स्थानीय स्रोतहरूले डिसेम्बर ७ मा एएफपीलाई दिएको जानकारीअनुसार पछिल्लो आक्रमणमा बन्दुकधारीहरूले मालसामान बोकेर गएका गाडीहरूको समूहमाथि आक्रमण गर्दा २१ जना सर्वसाधारणको मृत्यु भएको थियो।

बिबिसी र आरएफआई दुवैले बुधबार तेराको चाटौमानेमा जिहादीले ९० सैनिक र ४० भन्दा बढी सर्वसाधारणको हत्या गरेको जनाएका थिए ।

नाइजरको जुन्टा सरकारले आक्रमण र मृत्युका समाचारलाई ‘आधारहीन दाबी’ भन्दै खण्डन गरेको छ ।

एएफपीले स्वतन्त्र स्थानीय स्रोतबाट ती सङ्ख्यापुष्टि गर्न नसके पनि पश्चिमी सुरक्षा स्रोतले एएफपीलाई मङ्गलबारको आक्रमणमा ९० देखि १०० जनाको मृत्यु भएको जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्