Logo

मुढा बुनेर आम्दानी गर्दै कैदीबन्दी



दमौली (तनहुँ), ८ माघ । तनहुँ कारागारमा रहेका कैदीबन्दीले मुढा बिक्री गरेर आम्दानी गरेका छन् । विभिन्न अपराधमा जेल सजाय भोगिरहेका कैदीबन्दीले मुढा बिक्री गरेर आम्दानी लिन थालेका हुन् ।

कारागारमा रहेका तीन सयभन्दा बढी कैदीबन्दीमध्ये करिब एक सयले मुढा बुन्दै आएको कारागार प्रमुख नारायण अधिकारीले जानकारी दिए । कारागारमा उत्पादित मुढा दमौलीबजारमै बिक्री भइरहेको उनले बताए । उनले भने, “कैदीबन्दीहरुले मुढा बुनेर आम्दानी गरिरहेका छन्, यहाँ उत्पादित मुढाको माग दमौली बजारमै छ, एउटा गाडीमा राखेर मुढा बिक्री वितरणको व्यवस्था मिलाइएको छ ।”

कैदीबन्दीले उत्पादन गरेका मुढा न्यूनतम तीन सय ७५ देखि एक हजारसम्म बिक्री हुने गरेको छ । एक जना कैदीबन्दीले मुढा बुनेर चार हजारदेखि पाँच हजारसम्म आम्दानी गरेको अधिकारीको भनाइ छ । अधिकारीका अनुसार कैदीबन्दीले मुढा बनाउने, टायल राख्ने, बिट मार्नेलगायत काम गर्ने गरेका छन् ।

उनले भने, “विभिन्न अपराधमा जेल सजाय भोगिरहेका कैदीबन्दीलाई आयआर्जनतर्फ जोड्न प्रेरित गरिरहेका छौँ, कैदीबन्दीले मुढा बिक्री गरेर घरमा खर्च पठाउने गरेका छन् ।”

एउटा मुढा तयार गर्नका लागि दुई÷तीन दिन लाग्छ । मुढा उठाउने, टायर राख्ने, बुन्ने, बिट मार्ने र बुट्टा भर्ने काम फरक–फरक व्यक्तिले गर्ने गरेका छन् । अधिकारीले कैदीबन्दीलाई मागअनुसारको सीप प्रदान गर्ने गरेको बताए । उनले भने, “कारागारमा यत्तिकै दिन बिताउनुभन्दा केही न केही सीप हासिल गरेर आम्दानीनतर्फ जोड्ने प्रयासमा छौँ ।” रासस



प्रतिक्रिया दिनुहोस्