Logo

बेलायत : नयाँ नेतृत्व र भावी दिशा तय गर्न कन्जरभेटिभ पार्टी सदस्य बर्मिङ्घममा भेला



लण्डन, १३ असोज । चुनावमा ऐतिहासिक पराजय भोगेका आफ्ना घाउहरूमा मलम लगाउँदै बेलायतको विपक्षी कन्जरभेटिभहरू आइतबार वार्षिक सम्मेलनका लागि भेला भएका छन् ।

लेबर पार्टीले टोरीलाई सत्ताबाट हटाएको तीन महिनापछि मध्य इङ्ल्यान्डको बर्मिङ्घममा चार दिने बैठक हुन लागेको हो ।

सन् २००९ पछि कन्जरभेटिभ्स विपक्षमा रहेर हुन लागेको यो पहिलो सम्मेलन हो। भेलामा चार जना उम्मेदवारले संसदीय सहकर्मी र ग्रासरुटका सदस्यहरूको अगाडि आफ्ना भनाई राख्नेछन् र उनीहरूलाई पूर्व–प्रधानमन्त्री ऋषि सुनकलाई अर्को टोरी नेताको रूपमा प्रतिस्थापित गर्न सहमत गराउने प्रयास गर्नेछन्।

बेलायतको दोस्रो ठूलो सहरस्थित इन्टरनेसनल कन्भेन्सन सेन्टरको मुख्य हलमा केमी बाडेनोच, रोबर्ट जेनरिक, जेम्स क्लेभरली र टम टुगेन्धाटले भेलालाई सम्बोधन गर्नेछन् ।

युनिभर्सिटी अफ म्यानचेस्टरका राजनीतिका प्राध्यापक रोबर्ट फोर्डले एएफपीसँग भने, “ भेला अनिवार्य रुपमा हुने ‘ट्यालेन्ट परेड’ हुनेछ ।

कन्जरभेटिभ पार्टीका सांसदहरूले अन्तिम दुई उम्मेदवारको टुङ्गो लगाउन अर्को हप्ता मतदान गर्नेछन्। त्यसपछि अक्टोबरको अन्त्यमा बन्द हुने मतदानमा पार्टीका सदस्यहरूले विजेता चयन गर्नेछन्।

बेलायतको नयाँ विपक्षी नेता र पार्टीलाई पुनः एकताबद्ध गर्ने र पुनः निर्वाचित गराउने जिम्मेवारी पाउने नेताको चयन भेलाले गर्नेछ यद्यपि, यसको घोषणा नोभेम्बर २ गरिने छ ।

जुलाई ४ मा कन्जरभेटिभ्सको अहिलेसम्मकै सबैभन्दा खराब आम चुनावको परिणामपछि पार्टीले य नेतृत्वमा जो आएपनि दायाँबायाँ अगाडि बढ्ने वा सिधै अघि बढ्ने निर्णय गर्नेछ ।

बेलायतको ६५० सदस्यीय संसद्मा लेबर पार्टीले १७४ सिटको भारी बहुमत प्राप्त गरेको छ । टोरीहरूले संसद्मा यसअघि रहेको २५१ सिट गुमाएर मात्र १२१ सिट मात्र जितेको छ । यो उनीहरूको इतिहासमा सबैभन्दा कम सङ्ख्या हो।

सन् २०१९ मा भएको अघिल्लो चुनावमा टोरीहरूले बोरिस जोनसनको नेतृत्वमा ३६४ सदस्यसहित लेबर पार्टीको २०३ सिटभन्दा करिब ८० सिटको बहुमत प्राप्त गरेका थिए।

–राजनीतिक सङ्कट–

पार्टीमा व्यापक उथल–पुथल भएको छ । डाउनिङ स्ट्रिटका कर्मचारीहरूले कोरोना भाइरसको महामारीका कारण गरिएको लकडाउनको समयमा पार्टीका नेताले गरेका थुप्रै स्क्यान्डलहरूले जोनसनलाई पदबाट हट्न बाध्य तुल्याएको थियो।

त्यसपछि उनको उत्तराधिकारी लिज ट्रस बनेको थियो तर उनको मिनी–बजेटको कारण उनको नेतृत्वको सरकार केवल ४९ दिन मात्र चलेको थियो । उनको मिनी बजेटका कारण पाउण्डको मुल्यमा आएको गिरावटले बजारलाई बेलायतको आर्थिक बजारलाई त्रसित बनाएको थियो ।

प्रभावित बजारलाई स्थिर राख्न ल्याइएका सुनकले त्यो स्खलनलाई उल्ट्याउन सकेनन् र उनको २० महिनाको कार्यकाल गुटगत कलहले बिथोलियो।

नयाँ जनमत लिन घोषणा गरिएको चुनावपछि उत्तराधिकारी चयन गर्ने र आफूले राजिनामा दिने सोच उनले बनाएको थियो ।

पार्टीले दुविधाको सामना गरिरहेको छः के यसले नाइजेल फारेजको कट्टर दक्षिणपन्थी सुधारवादी यूके पार्टीमा प्रवेश गरेका मतदाताहरूलाई जिताउन ध्यान केन्द्रित गर्नुपर्दछ वा मध्यमार्गी लिबरल डेमोक्र्याट्समा प्रवेश गर्नेहरूको समर्थन पुनः प्राप्त गर्ने लक्ष्य राख्नुपर्छ ?

हालका वर्षहरूमा समग्र रूपमा पार्टी दक्षिणपन्थी भएको छ तर बाडेनोच र जेनरिकलाई उम्मेदवारहरूको अधिक दक्षिणपन्थीको रूपमा हेरिएको छ भने क्लेवरली र टुगेन्धाट मध्यको नजिक छन्।

लण्डनको क्वीन मेरी युनिभर्सिटीका राजनीतिका प्राध्यापक टिम बेलले भने, “यो सत्य हो कि अन्य दलमध्ये कुनै एकले यसलाई पूर्णरूपमा परित्याग नगरेसम्म यसले मध्यमार्गी बाटो अवलम्बन गर्दा नै बिजय प्राप्त गर्न सक्ने देखिन्छ।”

उनले भने, “अब लेबर पार्टी यसलाई उकास्न पूर्णतया कटिबद्ध देखिन्छ, यस्तो देखिन्छ कि कन्जरभेटिभहरूले सम्भवतः त्यस क्षेत्रमा लड्नुपर्छ।” सम्मेलन बुधबार सकिनेछ ।” रासस



प्रतिक्रिया दिनुहोस्